काठमाडौं, २१ वैशाख । कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले सात हजार डोज औषधि आज नेपाल आइपुगेको जानकारी दिनुभएको हो । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बङ्गलादेशबाट सात हजार डोज औषधि नेपाल ल्याइएको उहाँले बताउनुभयो । साथै उहाँले भोलि पनि केही मात्रामा औषधि नेपाल आइपुने बताउनुभयो ।‘रेम्डेसिभिर औषधि नेपाल आइपुगेको र अब दुई घण्टाभित्र वितरण हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले सो औषधि कोभिड अस्पतालहरुमा पठाउने तयारी भइरहेको बताउनुभयो ।कोभिड बिरामीको लागि प्रयोग हुने सो औषधि कसको पहलमा नेपाल ल्याइएको हो ? भने प्रश्न गर्दा उहाँले आधिकारिक आयातकर्ताको पहलमा ल्याइएको बताउनुभयो ।सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा दिइने रेम्डेसिभिर औषधि पछिल्लो केहि समयदेखि बजारमा अभाव देखिएको थियो । थप अभाव हुन नदिन आधिकारिक आयातकर्ताको पहलमा औषधि व्यवस्था विभागले बङ्गलादेशबाट उक्त औषधि ल्याउन सुरु गरेको हो ।यता प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोल खरिदका लागि कूटनीतिक प्रयास तीव पार्नुभएको छ । सोमबार प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रमा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्