काठमाडौँ, ६ फागुन । भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले विहीबार वयान फेरेका छन् । यसअघि हत्या गरेपनि बलात्कार नगरेको बताउँदै आएका उनले आज भने भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।
४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम प्रतिवेदन आधारमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो । भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।
तर विहीबार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग पनि भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।
‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको उनले सुनाए’, अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेटियो ।’
अभियुक्त दिनेशका बुबा दीपकराज भट्टले पनि हिरासतमा गएर छोरालाई प्रहरी कहाँ भेटेका छन् । त्यसक्रममा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । आफूहरुले दिनेशलाई भेटेर कुरा गर्दा घटनामा संलग्नता स्वीकार गरेको काका लक्ष्मण भट्टले बताए । ‘कतै प्रहरीले कुनै प्रलोभन देखाएर स्वीकार्न लगायो कि भन्ने थियो, होइन रहेछ’, उनले भने, ‘जे हुनु भइसक्यो, गल्ती भयो भनेको छ ।’








प्रतिक्रिया दिनुहोस्