काठमाडौँ, २८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज भेटी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणना भइरहेका विषयमा जानकारी गराउनुभएको छ ।
सो अवसरमा राष्ट्रपतिले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्ण रुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्न भएकामा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, निजामती, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, सशस्त्र प्रहरीलगायत सम्पूर्ण राष्ट्रसेवक तथा मतदातालाई धन्यवाद दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिनुभयो ।
निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्