जनकपुरधाम , ११ मंसिर । सात दिवसीय विवाह महामहोत्सव (विवाहपंच्मी) को दोस्रो दिन आज फूलबारी लीला हुने छ ।
त्रेताकालमा भगवान् राम र सीताको विवाह महोत्सव अघि भएको फूलबारीमा भेटघाटको सम्झना गर्दै विवाह मण्डपको फूलबारीमा ‘फूलबारी लीला’ हुने परम्परा रहेको छ ।
मिथिलाको परम्परा अनुसार मैथिली गीत, नादसहित आज दिउसो भगवान् राम, सीता र लक्ष्मणको प्रतीक झाँकी बनाएर फूलबारीमा भेटघाट हुने छ ।
सातदिने हुने कार्यक्रम अनुसार विवाह पंचमी महोत्सवको पहिलो मंगलबारका दिन जानकी मन्दिर प्राङ्गणमा ‘नगर दर्शन’ विधि सम्पन्न भएको छ । त्यस्तै भोलि तेश्रो दिन धनुष यज्ञ, चौथो दिन १३ गते शुक्रबार राम मन्दिर प्राङ्गणमा भव्य मञ्च बनाएर तीलकोत्सवको कार्यक्रम हुने छ ।त्यसै दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतको अयोध्याबाट आएका रामको जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले जानकी मन्दिर पूजा आज गरी रंगभूमि मैदान बराहबिघामा आयोजित कार्यक्रममा समेत सहभागी हुने जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैषणले बताउनुभयो । पाँचौँ दिन १४ गते शनिबार जनकपुरको ऐतिहासिक गङ्गा सागर पोखरीमा मिथिलाको परम्परा अनुसार मटकोर विधि हुने छ । त्यस्तै मुख्य कार्यक्रम छठौं दिन १५ गते आइतबार भगवान् राम र सीताको स्वयंवर तथा शुभ विवाह जानकी मन्दिर प्राङ्गणमा हुने छ ।
सातौँ दिन १६ गते सोमबार “राम कलेवा” जानकी मन्दिर प्राङ्गणमा गरी अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरेर विवाह पंचमी समापन हुने छ ।
प्रतिक्रिया दिनुहोस्