
काठमाडौं, ८ मसिर ।आज बालाचतुर्दशीअन्तर्गत दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । आजै साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।
आजै साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनहरु भिड लागेको छ । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर पुग्ने गर्दछन । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा लागेको हो । त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् ।
पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन छ ।







प्रतिक्रिया दिनुहोस्