काठमाडौँ, २० कात्तिक । नेपाली काँग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले बागी उम्मेदवारलाई विधानअनुसार कारबाही गरिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा संयोजक खाँणले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए स्वतः पार्टीको विधानले नै कारबाही गर्ने बताउनुभयो ।
“बागी उम्मेदवारलाई हामीले कारबाही गर्नु पर्दैन, विधानमा नै बागी उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले बागी उम्मेदवारसँगै प्रस्तावक र समर्थकलाई पनि कारबाही हुने स्पष्ट पार्नुभयो । संयोजक खाँणले आजमात्रै ५० प्रतिशतभन्दा बढी बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
उहाँले मंसिर १० र २१ गतेको निर्वाचनका लागि पार्टीका शीर्ष नेतालाई सात प्रदेशमा नै आमसभामा भाग लिने गरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । त्यस्तै, मझौला नेताहरुलाई भने प्रदेश सभा र जिल्लामा खटाइनेसमेत स्पष्ट पार्नुभयो ।
नेता खाँणले निर्वाचनको प्रचारप्रसार समितिको सहसंयोजकमा पत्रकारलाई सहभागिता गरिएको बताउनुभयो । “निर्वाचन प्रचारप्रसारमा पत्रकारलाई राख्दा सबै स्थानमा सूचना प्रवाह हुने भएकाले हामीले अनिवार्य पत्रकारको व्यवस्था गरेका छौँ”, संयोजक खाँणले भन्नुभयो ।
उहाँले अहिलेको समयमा सबैलाई एकताको सूत्रमा बाँध्ने लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन आवश्यक रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्