काठमाडौँ, १३ कात्तिक । सर्वोच्च अदालतले जुवाडेहरुलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । साढे दुई करोड ७० लाख रुपैयाँसहित महाराजगञ्जको एक घरबाट शनिबार राति पक्राउ परेका २५ जना मध्ये ६ जना जुवाडेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाई गर्दैै सर्वोच्चले २४ घण्टाभित्र शशरिर उपस्थित गराउन आदेश दिएको हो ।
सर्वोच्चले सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश दिएसँगै जुवाडेहरु बुधबार छुट्न पाएनन् । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रहरीलाई पक्राउ गरिनुको कारणसमेत पेश गर्न आदेश दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
इजलाशसले आइतबार बलराम सापकोटाको तर्फबाट दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिट र बुधबार दर्ता भएका अरु तीनवटा निवेदनलाई सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।
सोमबार बलराम सापकोटालाई २४ घण्टाभित्र उपस्थित गराउन दिएको आदेश अनुसार प्रहरीले उपस्थित गराए पनि अरुसँग राखेर सुनुवाइ गर्ने हुँदा उनको हकमा छुट्टै आदेश नभएको ढकालले बताए । पक्राउ परेका मध्ये बलराम सापकोटा, पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, मुक्ति लामा, विक्रम गौतम, साङ्बु शेर्पा र गेल्जे लामाले रिट निवेदन दर्ता गराएका छन्।
उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।
बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।
बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्