काठमाडौँ, ६ कात्तिक । बलात्कार गरि हत्या गरेर अमेरिका फरार भएका एक नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेमा झापा चन्द्रगढी नगरपालिका–३ घर भएका लिलाराज गौतम रहेका छन् ।
गौतमलाई बुधबार टर्किस एयरलाईन्सको विमानबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् । नेपाल प्रहरीले वासिंटनस्थित इन्टरपोलसमक्ष गौतमलाइ पक्रन आग्रह गरेपछि उनि सन् २०१८ को फेब्रुअरीमा पक्राउ परेका थिए ।
करिब २० बर्षअघि २०५७ साल असोज २९ गते राति गौतम सहित मनोज खड्का र सिताराम खड्को चन्द्रगढी–३ की एक युवतीकोे सामुहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेका थिए ।
हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुण्डाएका थिए। मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिए। प्रहरीले गौतमलाई त्यसबेला नै पक्राउ गरेको थियो। तर २०५८ साल कात्तिक २१ गते जिल्ला अदालत झापाले उनलाई सफाइ दिएको थियो।
मृतकका बुवा फेरि पुनरावेदन अदालत गएका थिए। पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
नेपाल सरकारको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन दिएकोमा सर्वोच्च अदालतले २०६६ भदौ १९ गते उनीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो। गौतम २०५७ कात्तिक १ गते हिरासतमा बसेर २०५८ भदौ ३२ गते छुटेका थिए।
प्रतिक्रिया दिनुहोस्