सी विचारधारा र नेकपाको प्रशिक्षण कार्यक्रम

सीको विचारधाराले माओको क्रान्तिकारी लाइनको होइन, देङ्गको दक्षिणपन्थी लाइनको प्रतिनिधित्व गर्दछ



चीनको कम्युनिस्ट पार्टीको सहभागितामा समेत नेकपा ९नेकपा०ले जुन प्रशिक्षणको आयोजना गरेको छ, त्यसले कैयौँ दृष्टिकोणले महत्व राख्दछ । त्यस सिलसिलामा सर्वप्रथम र सुरुमा नै एउटा कुरा प्रष्ट गर्न चाहान्छौँ । ती दुवैको माक्र्सवादी—लेनिनवादी सिद्धान्तहरूबाट विचलन भइसकेको छ र, त्यसकारण, ती दुवै कम्युनिस्ट पार्टीहरू होइनन् । सीको विचारधारा भनेर जुन कुराको उल्लेख गरिएको छ, त्यसले माओको क्रान्तिकारी लाइनको होइन, तर देङ्गको दक्षिणपन्थी लाइनको प्रतिनिधित्व गर्दछ । त्यसैले सामान्य प्रकारले हेर्दा नेकपा र चीनको कम्युनिस्ट पार्टीको बीचमा मूलभूत रूपमा बैचारिक समानता छ– त्यो दुवैको दक्षिणपन्थी संशोधनवादी लाइनको समानता हो । त्यसकारण सैद्धान्तिक दृष्टिकोणले ती दुवै सङ्गठनहरूको वा उनीहरूले आयोजना गरेको प्रशिक्षण कार्यक्रमले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि कुनै महत्व राख्दैन । तैपनि त्यो प्रशिक्षण कार्यक्रमले कुनै महत्व राख्दैन भन्ने पनि होइन । त्यसको आफ्नै महत्व छ ।
हामीले यसका लागि नेकपालाई धन्यवाद दिनुपर्छ कि उनीहरूले आफ्ना कार्यकर्ताको प्रशिक्षणका लागि लगातार प्रयत्न गर्ने गर्दछन् । पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकीकरण हुनुभन्दा पहिले पनि देशव्यापी रूपमा नै त्यसप्रकारका कार्यक्रमहरूको आयोजना गर्ने गर्दथे । अहिले पनि त्यसप्रकारका कार्यक्रमको आयोजना गरेका छन् । उनीहरूले दक्षिणपन्थी संशोधनवादी दिशा समातेका छन । तर, माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा समाजवादी अवधारणासित उनीहरूले पूरै सम्बन्ध तोडिसकेका छैनन् । त्यसले गर्दा राजनीतिक वा व्यवहारिक रूपमा दक्षिणपन्थी संशोधनवादी बाटो समातेका भएपनि सैद्धान्तिक रूपमा माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक पक्षलाई कम से कम वाह्य रूपमा पूरै छाडेका छैनन् । त्यसकारण उनीहरूको प्रशिक्षणले कार्यकर्ताहरूको सैद्धान्तिक स्तरलाई माक्सवादी–लेनिनवादी पक्षमा उठाउनको लागि केही न केही योगदान दिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । जे होस् उनीहरूको आफ्ना कार्यकर्तालाई प्रशिक्षित गर्न लगातार प्रयत्न गर्ने नीति सकारात्मक छ ।
नेकपाको प्रशिक्षण कार्यक्रमले राजनीतिक दृष्टिकोणले धेरै महत्व राख्दछ । नेपालमाथिको भारतीय साम्राज्यवादको लगातारको हस्तक्षेप र अतिक्रमणका विरुद्ध सन्तुलन कायम गर्नका लागि चीनसँगको सम्बन्धले मद्दत पुर्‍याउने कुरामा हामीले लगातार जोड दिंदै आएका छाँै । हाम्रो यो स्पष्ट धारणा छ कि चीनको कम्युनिस्ट पार्टीको माक्र्सवादी—लेनिनवादी सिद्धान्त वा समाजवादी उद्देश्यबाट विचलन भइसकेको छ । अव त्यहाँ समाजवादी व्यवस्थाको पतन भएर पुँजीवादको पुनस्र्थापना भइसकेको छ । यो सत्य हो कि आज चीनमा धेरै नै विकास भएको छ र त्यसले अमेरिकासित प्रतिष्पर्धा गर्दैछ । तर, कुनै देशमा उच्चतम् रूपमा विकास हुनुको अर्थ नै समाजवाद हँुदैन । त्यसो हुने भए हामीले अमेरिकामा वा अन्य विकसित पुँजीवादी देशहरूलाई पनि समाजवादी भन्नुपर्ने हुन्थ्यो । आज चीनमा जे—जति विकास भएको छ, त्यसको प्रकृति पुँजीवादी प्रकारको छ र अब त्यसले साम्राज्यवादी रूप लिइसकेको छ । त्यसरी अव चीन र भारत दुवै साम्राज्यवादी देशहरू भएका छन् । तर, ती दुवै साम्राज्यवादी देशहरू भएपनि चीनसितको सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्दछ । त्यो अवस्थामा अहिले चीनका सिद्धान्तविद् र नेताहरू समेतको सहभागितामा हुन थालेको नेकपाको प्रशिक्षण कार्यक्रमले माक्र्सवादी–लेनिनवादी दृष्टिकोणले महत्व नभएपनि त्यसले चीनसितको नेपालको सम्बन्धको विस्तारमा मद्दत पुर्‍याएमा नेपालका लागि त्यो सकरात्मक महत्वको कुरा हुनेछ । नेपालको चीनसितको सम्बन्ध बढाउन केही वातावरण तयार पारे पनि त्यो स्वागतयोग्य कुरा हुनेछ ।


कतिपय पक्षहरूले अहिलेको प्रशिक्षण कार्यक्रममा सी विचारको समेत प्रशिक्षण राख्नु वा कतिपय चाइनिज नेताहरूले समेत प्रशिक्षण दिने व्यवस्था गर्नु नेपालको राष्ट्रियताका विरुद्धको कुरा हो भनेर आलोचना गरेका छन् । त्यस्तो सोचाइलाई हामीले सही मान्दैनाँै । कुनै पनि प्रशिक्षण कार्यक्रममा कैयाँै विदेशी सिद्धान्त, दर्शन वा विचारहरूको अध्ययन गर्ने वा प्रशिक्षण दिने काम गरिन्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्त नै हाम्रो स्वदेशी सिद्धान्त नभएर विदेशी सिद्धान्त हो । माक्र्स, एङ्गेल्स र लेनिन समेत विदेशी थिए । तर, त्यो कारणले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको महत्व कम हुन्न । संसदीय प्रणाली नै नेपालमा विकसित भएको प्रणाली होइन र त्यो विदेशी हो । तर, त्यो कारणले त्यसको महत्व कम हँुदैन । त्यसकारण नेकपाको प्रशिक्षणमा सी को विचारधारा समेतको प्रशिक्षण दिने वा चिनियाँ नेताहरू समेतले त्यसमा प्रशिक्षण दिने कार्यक्रम बनेको हुनाले त्यही कारणले त्यसलाई गलत ठहर्‍याउनु सही हुन्न । निश्चय नै त्यसको अर्थ सी विचारलाई समर्थन गर्नु र त्यसलाई महत्व दिनु होइन र हुन्न ।
हामीले आफ्नो पार्टी स्कूलमा पनि कैयौँ विरोधीहरूका सिद्धान्तहरूबारे पनि प्रशिक्षण दिने गर्दछौँ । त्यस क्रममा कैयौँ देशी वा विदेशी विचारहरूको अनुशरण गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ र तिनीहरूको प्रशिक्षण दिन्छौँ । यदि विदेशी विचारको प्रशिक्षणलाई गलत ठहर्‍याउने नै हो भने हामीले नेपालसित सम्बन्धित विषय बाहेक कुनै विदेशी सिद्धान्त, विचारधारा वा दर्शनबारे प्रशिक्षण दिनु भएन । चीनको कम्युनिस्ट पार्टीको माक्सवादी—लेनिनवादी सिद्धान्तहरूबाट विचलन भएको कुरा सत्य हो । त्यसकारण अव त्यो कम्युनिस्ट पार्टी रहेन । तर, त्यसको सङ्गठन प्रणाली वा अनुशासन पद्धतिबाट हामीले धेरै सिक्न सक्दछौँ र सिक्नुपर्दछ । भारतमा राष्ट्रिय स्वयसेवक सङ्घ (आरएसएस) को सङ्गठनात्मक प्रणाली अनुशासित छ । त्यसप्रकारको सङ्गठनमा आवद्ध भएर नै भारतका कैयाँै नेताहरू पैदा भएका छन्, जस्तै कि अटलविहारी बाजपेयी, आडवानी, मोदी आदि । वास्तवमा भारतमा भाजपाको विजयका पछाडि पनि आरएसएस वा त्यसले तयार पारेका कार्यकर्ताहरूको ठुलो योगदान रहेको छ । त्यही प्रकारले चीनको पार्टी वा त्यसको नेतृत्वको सरकारले विकासको क्षेत्रमा जुन ठुला उपलब्धिहरू प्राप्त गरिरहेको छ, त्यसका पछाडि त्यहाँको कम्युनिस्ट पार्टीको व्यवस्थित सङ्गठन प्रणाली र अनुशासनको पद्धतिले पनि काम गरेको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यसको तुलनामा अहिले नेकपाको सङ्गठन र अनुशासनको प्रणाली कति खुकुलो छ रु आम रूपमा थाहा भएको कुरा हो । त्यो अवस्थामा नेकपाले चीनको पार्टीको सङ्गठनात्मक प्रणालीबाट पनि सिक्ने प्रयत्न गर्‍यो भने त्यो उनीहरूको लागि धेरै राम्रो हुन सक्नेछ ।

कुनै समाज वा सङ्गठन जति उन्नत हुँदै जान्छ, त्यसको आन्तरिक सङ्गठन वा अनुशासन पनि त्यति नै उन्नत हुँदै जान्छ । सामन्तवाद र पुँजीवाद बीचको अन्तरमाथि नै विचार गरौँ । सामन्तवादी व्यवस्थाको तुलनामा पुँजीवादी प्रणाली धेरै नै सङ्गठित र अनुशासित हुन्छ । त्यसप्रकारको अनुशासनविना पुँजीवादी उत्पादन प्रणाली सम्भव हुँदैन । कुनै व्यापार वा उद्योगमा जति बढी कुनै व्यवस्था वा अनुशासन हुन्छ, त्यसका त्यति नै बढी परिणामहरू हुन्छन् । त्यही कुरा कुनै राजनीतिक पार्टीबारे पनि सत्य हो । कुनै राजनीतिक पार्टी जति बढी सङ्गठित र अनुशासित हुन्छ, त्यसले त्यति नै बढी सफलता प्राप्त गर्न सक्दछ । त्यसैले चीनमा भइरहेको तीव्र गतिको विकासका पछाडि पनि त्यहाँको कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका भएको वा त्यसभित्र व्यवस्थित सङ्गठनात्मक प्रणाली वा अनुशासन रहेको कुरालाई बुझ्न सकिन्छ । कुनै पार्टी वा कुनै राज्य, समाज, पार्टी वा सङ्घ—संस्थामा अनुशासनको कडी टुट्यो भने त्यो भताभुङ्ग हुँदै जान्छ । त्यो अवस्थामा नेकपाले चीनको पार्टीको सङ्गठनात्मक प्रणाली वा अनुशासनको पद्धतिबाट जुन सिक्ने प्रयत्न गरेको छ, त्यो प्रशंसनीय छ । तर, त्यसबाट उनीहरूले आफ्नो सङ्गठनभित्रको अस्तव्यस्तता वा अव्यस्ततालाई कतिसम्म सुधार्न सक्ने छन् रु त्यो आउने दिनमा नै थाहा हुने छ । बताइरहनु पर्ने आवश्यकता छैन कि चीनको कम्युनिस्ट पार्टीभित्रको सङ्गठनात्मक प्रणाली र अनुशासनलाई हामीले पनि अध्ययन गर्नुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने आवश्यकता छ ।

चीनको पार्टीबाट सिक्ने कुरा गर्दा कतिपय व्यक्तिहरूलाई नराम्रो पनि लाग्न सक्दछ । एउटा दक्षिणपंथी संशोधनवादी पार्टीबाट सिक्ने रु तर माक्र्सवादी–लेनिनवादी सिद्धान्तले त्यसरी सिक्नेबारे कट्टरपन्थी दृष्टिकोणलाई अपनाउँदैनन् । माक्र्सले हेगेलबाट – जो अध्यात्मवादी, प्रतिक्रियावादी वा राजतन्त्रवादी दार्शनिक थिए—बाट द्वन्द्ववादको सिद्धान्त ग्रहण गरेका थिए । लेनिनले पुँजीपतिहरूबाट विजनसको कुशलता र इसाइहरूबाट आफ्नो कर्तव्यप्रति पूरै समर्पित भएर काम गर्ने स्पीट सिक्नुपर्ने कुरामा जोड दिएका छन् । लेनिनले पार्टी सङ्गठनको सिलसिलामा पार्टीको अनुशासन मिलिटरीको जस्तो हुनुपर्ने कुरामा जोड दिएको छ । त्यसरी उनले पार्टीको अनुशासनलाई मिलिटरिएट अनुशासन पनि बताएका थिए । त्यही सन्दर्भमा हामीले चीनको कम्युनिस्ट पार्टी वा आरएसएसको सङ्गठनात्मक प्रणालीबाट सिक्नुपर्ने कुरामा जोड दिन्छौँ भने त्यो सोचाइलाई गलत भन्न मिल्दैन ।

कतिपय पक्षहरूले नेकपाको प्रशिक्षणमा चिनीयाँ नेताहरूको उपस्थिति र उनीहरूद्वारा प्रशिक्षण दिने कार्यको विरोध गरिरहेका छन् । त्यसका पछाडि वास्तवमा राजनीतिक रूपले चीनसितको सम्बन्ध विस्तारप्रतिको पूर्वाग्रहले नै बढी काम गरेको छ । भारतीय साम्राज्यवादले नेपालको चीनसितको सम्बन्ध विस्तारको कडा विरोध गर्दछ र नेपाल सरकारमाथि सँधै त्यसका लागि दवाव दिंदै आएको छ । नेपालका भारतपरस्त तत्वहरूले पनि चीनसितको सम्बन्ध विस्तारको सँधै विरोध गर्दै आएका छन् । कतिपय राजनीतिक पार्टीले अहिले नेकपाको प्रशिक्षणमा चीनको पार्टीको सहभागितालाई विरोध गरिरहेका छन्, त्यसको पछाडि पनि त्यसप्रकारको भारतपरस्त दृष्टिकोणले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसको विपरित, हाम्रो के सोचाइ छ भने अहिलेको प्रशिक्षणको कार्यक्रमले पनि नेपालको चीनसितको सम्बन्धको विस्तारलाई केही मद्दत पुर्‍याउँछ भने र त्यसले भारतीय साम्राज्यवादको नेपालमाथिको हस्तक्षेप वा अतिक्रमणको विरुद्ध सन्तुलन कायम गर्न केही मद्दत पुर्‍यायो भने पनि त्यो स्वागतयोग्य कुरा हुनेछ ।
मिति ः २०७६ असोज ७ गते

    Comment Here!


सम्बन्धित समाचार

View All