
काठमाडौं, ३१ भदौ । नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विभाग प्रमुख क्लिन्टन एस ब्राउनले अमेरिकाको इन्डो प्यासिफिक नीति चीन विरोधी नभएको बताउनु भएको छ । काठमाडौंमा आयोजित ‘विश्व परिस्थिति र नेपालको भविष्य’ विषयक अन्तर्क्रियामा बोल्दै उहाँले नेपालमा यसलाई ‘रणनीति’ भन्ने गरिएको उल्लेख गर्दै ‘नीति’ भन्न आग्रह समेत गर्नुभयो ।
इन्डोप्यासिफिक नीतिमा नेपाललाई अमेरिकाले हस्ताक्षर नगराएको ब्राउनले प्रष्ट पार्नुभयो । स्वतन्त्र र खुल्ला एसिया प्यासिफिक क्षेत्रले चीनको समेत हित गर्ने गर्नुभयो । यसबाट चीनको अर्थतन्त्र थप प्रवद्र्धन हुने भन्दै यसलाई चीनविरोधी नीतिको रुपमा नहेर्न ब्राउनले आग्रह गर्नुभयो। अमेरिकाले नेपालमा ७० वर्षदेखि निस्वार्थ रुपमा सहयोग गरिरहेको पनि उहाँको भनाई थियो ।
नेपालका सुरक्षा निकाय र अमेरिकी सुरक्षा निकायबीचको सहकार्य (ट्रेनिङ) का सन्दर्भमा नेपालमा प्रश्न उठेकोमा पनि असन्तुष्टि ब्यक्त गर्नुभयो ।
आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित नेपाल सरकारलाई पत्र लेखेको सार्वजनिक भएको छ । जसमा एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाको प्रस्ताव रहेको उल्लेख गर्दै नेकपाकी सांसद पम्फा भुसालले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।







प्रतिक्रिया दिनुहोस्