भक्तपुर, २५ भदौ । भक्तपुरमा डेंगी रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्तीमा छिर्नु भएको छ ।
हनुमन्ते सफाइ अभियानले भक्तपुरमा बुधबारबाट डेंगी सार्ने लामखुट्टे मार्ने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनु भएका सांसद बस्नेत आफै औषधिसहितको गन बोकेर डेंगी सार्ने लामखुट्टे मार्ने अभियानमा जुट्नु भएको हो ।
सांसद बस्नेतले बुधबार मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको बास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित डेंगी प्रकोप नियन्त्रणमा सक्रिय हुनु भएको हो ।
मन्त्री बस्नेतले डेंगी रोगको प्रकोप फैलिँदै गएकाले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेंगी नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।
हनुमन्ते सफाइ अभियानको टोली सहभागी रहेको कार्यक्रममा अभियन्ता नरेश रञ्जितले जोखिम रहेको क्षेत्रमा माग भएअनुसार डेंगी नियन्त्रणको लागि लामखुट्टे मार्ने औषधिसहितको गन लिएर हनुमन्ते सफाइ अभियानको आपतकालीन टोली परिचालन हुने बताउनुभयो ।
भक्तपुरमा डेंगी रोग महामारीको रुपमा फैलिनबाट रोक्न र डेंगी नियन्त्रण गर्न अभियान सुरु गरेको बताउँदै मेसिन आवश्यक पर्ने ठाउँमा माग गर्नसमेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्