
काठमाडौं, २० जेठ । सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा विप्लव समूहका कार्यकर्ताले आक्रमण प्रयास गरेको खबर गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले सत्य नभएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘नियमित प्रक्रियाअनुसार सोलुखुम्बुबाट थप सुरक्षा सहायता माग भएकोले त्यो पठाएका हौँ, तर सञ्चार माध्ययममा आएको जस्तो चाहिँ होइन ।’ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले महाकुलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको सूचना भने पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गतिविधि बढेको सूचना पाएपछि त्यहाँ सुरक्षाका लागि थप प्रहरी पठाएको सत्य हो, त्यहाँ प्रहरी जनशक्ति कम भएकोले पठाएका हौँ, गतिविधि बढेको सूचनापछि सुरक्षा सतर्कता अपनाउनु सामान्य प्रक्रिया हो तर चौकी नै आक्रमणको प्रयास चाहिँ भएको छैन ।’
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पनि केही दिन अघिदेखि गाउँमा नौला मानिसको गतिविधि बढेको र उनीहरुलाई सोधपुछसमेत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुले नाम्चेतर्फ आवतजावत गर्ने बताएको र केही ठाउँमा विप्लव कार्यकर्ताको पनि गतिविधि बढेकोले सतर्ककता अपनाइएको छ । तर आइतबार राति आक्रमणकै प्रयास भएको चाहिँ होइन ।’
विप्लव कार्यकर्ताको झण्डै ३० जनाको समूह आइतबार राति १२ बजेतिर हतियारसहित प्रहरी चौकीमा पुगेको र आक्रमणको सूचना पाएपछि प्रहरी पहिले नै सुरक्षित स्थानमा गएकोले घटना हुन नपाएको स्थानीय बासीन्दाले बताएका छन् । आज दिउँसो पनि त्यस क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरले गस्ती गरेको स्थानीयको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्