
काठमाडौं,२१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भनेर गरेको सम्बोधनमाथि टिप्पणी हुनु अनुचित भएको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान विभिन्न संचारमाध्यमका सम्पादकहरुसंग आयोजित अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट मेरो सरकार भन्ने विषय स्वभाविक भएको बताउनुभएको हो । ओलीले अन्तराष्ट्रिय प्रचलन अनुसार नै राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुभएको बताउनुभयो ।
राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो । त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु सही भएको बताउंदै उहांले अनावश्यक विषयमा राष्ट्रपतिलाई विवादमा तान्न खोज्नु दुःखद भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा बालुवाटारको सरकारी जमिन अतिक्रमणबारे पनि प्रश्न उठेको थियो । जवाफमा प्रधानमन्त्री ओलीले बालुवाटारको जमिन आफ्नो कार्यकालमा नहडपिएको बताउंदै बरु अतिक्रमित सरकारी जमिन आफुहरुले खोजी गरिरहेको बताउनुभयो ।
ओलीले वाइडबडी विमानको पनि छानबिन जारी रहेको जनाउनुभयो ।
उहांले भ्रष्टाचारको विषयमा अनुगमनमाथि अनुगमन हुने भन्दै भ्रष्टाचार न्यूनीकरण गर्दै उन्मूलन गर्नु नै आफ्नो नीति रहेको जिकिर गर्नुभयो । कार्यक्रममा विभिन्न संचारमाध्यमा कार्यरत सम्पादक संचारमन्त्री तथा मन्त्रीहरुको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्