
काठमाडौं,२३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा आफूले तथ्यमा आधारित भएर बोलेको दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आईतबार संघीय संसद प्रतिनिधिसभाको बैठकमा आफूले ‘तथ्य जे छ, त्यही बोल्दा पनि’ केहीले आधारहिन टिप्पणी गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।
सोमबार नेपाल चेम्बर अफ कमर्शको ६८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले सुगाले पिञ्जराबाट दिएको खाम भित्रको पत्र नभई सरकारले १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेश गरेको पनि स्पष्ट पार्नु भयो ।
उहाँले सरकारलाई तथ्यांकसँग खेल्नुपर्ने कुनै कारण नरहेको पनि बताउनु भयो । नयाँ तथ्यांक निर्माणमा अघि बढेको सरकारले तथ्यांकसँग नखेल्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले संसदमा दिएको वक्तव्यमा झूटा तथ्यांक उल्लेख गरिएको भन्दै आलोचना गरिएको छ । सोही प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूलाई झुटा आँकडा पेश गर्नु नभएको जवाफ पनि दिनु भयो ।
प्रधानमन्त्री ओलीले देशको विकासका लागि आवश्यक नयाँ कानुनको निर्माण र पूराना कानुनको संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
उहाँले देश विकासका लागि आवश्यक उद्योगी, व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने आश्वासन पनि दिनु भयो । देश र जनताको हितका लागि सरकार सबै काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको समग्र विकासका लागि आवश्यक कानुन संशोधन गर्न सरकारसँग माग गर्नु भएको थियो ।
उहाँले लगानी मैत्री, उद्योगी व्यवसायी मैत्री कानुन नभएकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भयो ।अध्यक्ष श्रेष्ठले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न आफूहरु प्रतिवद्ध भएर लागिपर्ने पनि बताउनु भयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि निजी क्षेत्रले अझै गतिका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।







प्रतिक्रिया दिनुहोस्