
काठमाडौं,१९ पुस । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीले सांसद पदको सपथ लिनुभएको छ ।
विहिबार सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले चौधरीलाई सांसद पदको सपथ खुवाउनुभएको हो । सांसद चौधरीले थारु भाषामा सपथ लिनुभएको थियो ।
सपथ ग्रहण पछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसद चौधरीलाई सांसद पदको लोगो दिनुभएको थियो । सपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित थिए ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरि भएको आन्दोलनमा संलग्न भएको आरोपमा मुद्धा खेपिरहेका चौधरी सपथ लिन डिल्लिबजार कारागारबाट संसद सचिवालय आउनुभएको हो । उहाँलाई उच्चसुरक्षा सर्तकता साथ संसद सचिवालय ल्याईएको थियो ।
सपथग्रहण पछि उहाँलाई उच्च सुरक्षा सर्तकता साथ फेरी डिल्लीबजार कारागार लगिएको छ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले हिउदे अधिवेशन सुरु भएकै दिन पुस ११ गते तत्काल सांसद चौधरीलाई सपथ खुवाउन सरकारसंग माग गर्नुभएको थियो ।
कारागारमा बसेकालाई पदिय हैसियतमा सांसदको सपथग्रहण गराउदै लोगो दिईएको यो घटना नेपालकै संसदीय इतिहासमा पहिलो घटना हो ।







प्रतिक्रिया दिनुहोस्