काठमाडौं, २ पुस। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आशंकामा लिइएको स्थानीय प्रदीप रावल र विशाल चौधरीको डिएनए जाँचको रिपोर्ट प्रहरीको अपराध अनुसन्धान विभागमा थन्किएको छ।
बालिका पन्तको हत्या आरोपमा रावल र चौधरी पक्राउ परेपछि हौसिँदै प्रहरी अनुसन्धानमा जुटेको थियो। बयानमा रावलले स्विकार गरिसकेको र उनकै बयानका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरी स्रोतले त्यसबेला बताएको थियो।
स्रोतका अनुसार रावल र चौधरी दुबै जनाको डिएनए नमिलेपछि हौसिएको प्रहरी एकाएक निराश भएको थियो।
यसभन्दा अघि डिएनए जाँच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा हुने गरेको थियो। सोही प्रक्रिया पूरा गर्न प्रहरीले रावल र चौधरीको डिएनए जाँच गर्न नास्ट पठाएको थियो। तर, नास्ट स्रोतले गत बिहीबार नै डिएनए जाँच गरेर प्रहरीलाई पठाइसकेको जनाएको छ। यसभन्दा बढी नास्टले डिएनएको बारेमा आफूले बोल्न नमिल्ने बताएको छ।
नास्टबाट प्रहरीको अपराध अनुसन्धान विभाग पुगेको डिएनए रिपोर्ट अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। डिएनए रिपोर्टबारे सिआइबीले आफूलाई केही जानकारी नहुने र रिपोर्ट सिधै कन्चनपुर जाने बताएको छ।
दुई प्रहरीसहित ७ जनाको पनि डिएनए जाँच
बालिका पन्तको बलात्कार हत्या आरोपमा प्रहरीले थप ७ जनाको डिएनए जाँच गरेको छ। राष्ट्रिय अनुसन्धान विभागका २ जना सिपाही र थप ५ जना गरी ७ जनाको डिएनए जाँच गरिएको स्रोतले जानकारी दियो। उनीहरुको डिएनए रिपोर्ट भने आइनसकेको स्रोतले जानकारी दियो।
अहिले डिएनए जाँचका लागि पठाइएका सातै जनालाई सिआइबीका डिएसपी अंगुर जिसीको टोलीले सोधपुछ गरेर हत्यामा संलग्न नभएको देखिएको भन्दै छाडेको थियो।








प्रतिक्रिया दिनुहोस्