
काठमाडौं,६ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।
बुधबार सिंहदरबारमा बसेको चालू आर्थिक वर्षको पहिलो चौमासिक समिक्षा बैठकमा मन्त्रालयहरुको कार्य प्रगति विवरण सन्तोषजनक नरहेको पाइएपछि प्रधानमन्त्री ओलीले बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन घोषित लक्ष्य अनुसार छिटो सम्पन्न गर्न सबै मन्त्रालयलाई सचेत गराउनु भएको हो ।
चालू आर्थिक वर्षको लक्ष्यअनुसार बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न मन्त्रालयहरुलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले अर्को चौमासिक बैठकमा लक्ष्यअनुसार काम गर्न पनि सबै मन्त्रालयलाई सचेत गराउनु भयो । बुधबारको बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य प्रगति विवरणको समिक्षा गरिएको थियो ।
ती मन्त्रालयहरुले विगतको भन्दा करिब ३९ प्रतिशतले कार्यप्रगति गरेको पाइए पनि चालू आर्थिक वर्षको लक्ष्यअनुसार असन्तुष्टि हुने अवस्था भने नरहेको अर्थमन्त्री खतिवडाले बताउनु भयो ।
बैठकमा मन्त्रालयहरुले मन्त्रालय, अन्तर मन्त्रालयलगायतका समस्याका कारण लक्ष्य अनुसार कार्य प्रगति गर्न नसकेको जानकारी पनि प्रधानमन्त्री ओलीलाई गराएका थिए । अन्य मन्त्रालयको समिक्षा बिहिबार र शनिबार गर्ने प्रधानमन्त्री ओलीको योजना छ ।







प्रतिक्रिया दिनुहोस्