
काठमाडौ ,५ कात्तिक । कन्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दुवै जनालाई सेवाबाट निष्काशन गर्न गृहलाई गत असोज २९ गते नै पत्राचार गर्नुभएको थियो । घटना अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रमुख एसपी विष्टसहित ६ जनालाई निलम्वन गरेको थियो ।
प्रहरी महानिरीक्षकले हस्ताक्षर गरेको कारबाही सिफारिस पत्र अनुसार गृह सचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टिकरण सोध्न सकिने व्यवस्था छ । स्पष्टिकरण चित्त बुझ्दो नपाइए सरकारी सेवामा अयोग्य हुने गरी समेत बर्खास्त गर्ने अधिकार गृह सचिवलाई छ ।
बालिकाको बलात्कारपछि हत्या गरिएको अवस्थामा गत साउन ११ गते शव भेटिएको थियो । आधा दर्जन भन्दा बढी प्रहरी टोलीले घटनाको छानविन गरेपनि परिणाम शून्य छ ।
सहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले पनि घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही र हेलचक्र्याइँ गरेको निष्कर्ष निकालेको थियो । सो प्रतिवेदनलाई टेकेर प्रहरी अधिकारीमाथि स्पष्टिकरण सोधिने गृहले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्