
काठमाडौं,२७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि विभिन्न क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
शुक्रबार गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतलाई सम्झेर एक अर्कामा दोष लगाउनु भन्दा सबैको सहकार्यबाट समृद्ध नेपालको अवधारणामा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले लिएको लक्ष्य प्राप्तीको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीलाई देशमा भित्¥याइ उर्जा ,पुर्वधार लगायतका विभिन्न महत्वकांक्षी योजनाहरु कार्यन्वयनका लागि सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उँहाले गैरआवासिय नेपालीहरुको हक अधिकार संविधानमा नै स्पष्ट पारेको दावी गर्दै निजी क्षेत्रको लगनीका लागि आवश्यक निती नियम तर्जुमा गरी लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरिसकेको जानकारी दिनुभयो ।
उँहाले लामो राजनितीक गतिरोध अन्त्य भइसकेकाले लगानीमैत्री वातावरण बनेको जिकिर गर्नु भयो । प्रधानमन्त्री ओलीले सम्भाव्य क्षेत्रमा लगानी गर्न चाहे त्यसको सुरक्षाको जिम्मा सरकारले नै लिने दावी गर्नु भयो । गैरआवासीय नेपालीले नेपालभित्र ठूला आयोजनाहरुमा लगानीको अवसर रहेको भन्दै खुलेर लगानी ल्याउन आह्वान गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले विदेशमा सिकेको ज्ञान र सीपसंगै नेपालमा लगानी गरेर समृद्ध नेपाल बनाउन आफुहरु दृढ रहेको बताउनुभयो ।
काठमाडौंमा सुरु भएको विज्ञ सम्मेलनमा विभिन्न देशबाट आएका विज्ञहरुले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ । कार्यपत्रका विषयमा छलफलबाट निश्कर्ष सहितको श्वेतपत्र जारी गर्ने र सरकारलाई सुझाव स्वरुप बुझाउने संघको योजना रहेको छ ।







प्रतिक्रिया दिनुहोस्