
काठमाडौं, २४ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आफू जिम्मेवारीबाट मुक्त भएको बताएका छन् ।
गएको विहीबार सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक निर्णय बदर गर्ने निर्णय गरेको थियो । निर्वाचन आचारसंहिता लागु भएपछि भएका नियुक्तिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय आफ्नो हकमा पनि लागु हुने सरकारको आशय पाएपछि आफूले यस्तो निर्णय गरेको उनको भनाइ छ ।
उनी गएको कार्तिक ६ गते नियुक्त भएका थिए । तीनमा प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ। प्राडा गोविन्द पोखरेल सांसदको उम्मेदवार गर्न गएपछि रिक्त पदमा भुसाल सीइयो नियुक्त भएका थिए ।
प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले सो पत्र कार्यालय समय पछाडि आएकाले आफूले पढ्न नपाएको बताए ।
प्राधिकरणको ऐनमा सीईओलाई जुनसुकै बेला सरकारले हटाउन सक्ने उल्लेख छ । तर, त्यसअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था ऐनमा छ ।
यसअघि परामर्श समिति र निर्देशक समितिको बैठकबारे छलफल गर्न बालुवाटार पुगेका बेला प्रधानमन्त्री ओलीले भेट नदिइ भुसाललाई फर्काइदिएका थिए ।







प्रतिक्रिया दिनुहोस्