बर्दिवास, ११ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र उन्नत अभ्यासका लागि काँग्रेसभित्र सुदृढ एकताको आवश्यकता औँल्याउनु भएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा आज जिल्लाका अगुवा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले काँग्रेसभित्रको बिग्रहले पार्टीमात्र नभई लोकतन्त्र नै कमजोर हुने भएकाले सङ्गठनभित्र सम्पूर्ण एकताको आवश्यकता औँल्याउनुभयो ।
“यो मुलुकमा प्रजातन्त्र भन्नोस् वा लोकतन्त्र, काँग्रेसकै अगुवाइमा सम्भव भएको हो”–उहाँले भन्नुभयो, “काँग्रेसको जन्म नै प्रजातन्त्रका लागि भएकाले अहिलेको लोकतान्त्रिक संविधानको सफल कार्यान्वयन पनि काँगे्रसले नै गर्न सक्छ ।” यसका लागि पार्टीभित्र सुदृढ एकताको खाँचो भने रहेको निधिको भनाइ थियो ।
काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जनतासँग न्यानो सम्बन्ध विकास गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध सङ्गठित अभियान बढाउन कार्यकर्तालाई अपिल गर्नुभयो । कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताले पार्टी नेतृत्वबाटै विभाजित भएकामा रोष प्रकट गरेका थिए ।
संविधान घोषणाको तीन वर्ष नपुग्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतीय शासन प्रणालीको कुरा उप्काएर मुलुकलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप थियो । “कम्युनिष्टहरु उपयोगको नीतिले संविधान मान्दैछन्”–निधिले भन्नुभयो, “काँग्रेसका लागि त लोकतन्त्र उपयोगको कुरा हैन, जीवन पद्धति नै हो ।”







प्रतिक्रिया दिनुहोस्