
काठमाडौं, ७ असार । तिब्बत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत स्वायत्त सरकारका प्रमुख छिटालाबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
बेइजिङ भ्रमण पुरा गरी आज दिउसो ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओली र छिटालाबीच ल्हासास्थित तिब्बत इन्टरकन्टिनेन्टल होटलमा आधाघण्टा भेटवार्ता भएको थियो । भेटमा छिटालाले नेपालले लिएको एकचीन नीतिको प्रशंशा गर्नुभएको थियो । छिटालाले दुईपक्षीय सम्बन्धलाई अझ बढाउने धारणा समेत राख्नुभयो । बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत रहेर नेपाललाई सबैप्रकारको सहयोग गर्ने पनि उहांले बताउनुभयो ।
नेपालका कम्युनिष्ट पार्टीहरु एकता भएकोमा खुशी व्यक्त गर्दै उहांले नेपालको विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ट्रान्स हिमालयन कनेक्टिभिटी लाई दुवै देश मिलेर सफल बनाउनुपर्ने धारणा राख्दै उहांले सिन्धुपाल्चोक र मुस्ताङ नाकालाई व्यवस्थित बनाउन तिब्बत सरकार तयार रहेको बताउनुभयो ।
जवाफमा प्रधानमन्त्री केपी ओलीले चीन र तिब्बत सरकारले नेपालको विकास र समृद्धिका लागि सहयोगको हात बढाएकोमा धन्यवाद दिनुभएको थियो । ओलीले नेपाल र तिब्बतका जनताबीच सयौंवर्षदेखि सम्बन्ध रहेको स्मरण गर्दै जनस्तरको सम्बन्धलाई थप उचाईमा पुर्याउनुपर्ने धारणा राख्नुभयो ।







प्रतिक्रिया दिनुहोस्