काठमाडौं, २४ जेठ । फुटबलमा म्याच फिक्सिङको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले बिहीबार राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइको फैसला सुनाएको हो।
राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई अदालतले सफाइ दिएको छ।
२०७२ कात्तिक २२ गते उनीहरुमाथि राज्यविरुद्धको अपराध मुद्दा विशेषमा दर्ता भएको थियो।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो।
इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको उनीहरुमाथि आरोप लागेको थियो।
यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो। उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो।
अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिवन्धको घोषणा गरिसकेको छ।







प्रतिक्रिया दिनुहोस्