पाल्पा, २३ जेष्ठ । भौतिक योजना पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहितको टोलीले सिद्धार्थ राजमार्गको सिद्धवावाको पहिरो ग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेको छ । ढुङ्गा र पहिरो खसेर मानविय र भौतिक क्षति हुने क्षेत्रको स्थलगत अवलोकन पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुविर महासेठले राजमार्गलाई सुरक्षित बनाउने विकल्पको खोजी गरिने बताउनु भएको हो । मन्त्री महासेठले सरकारले सुरक्षित राजमार्ग बनाउने विषयमा संवेदनशिल भएर काम अगाडी बढाउने प्रतिबद्धता दिनुभयो ।
वैकल्पिक राजमार्ग निर्माण गरेर पहाड सबै स्टेप मिलाए कटान गर्ने, सुरुङ्ग मार्ग निर्माण गर्ने, सेमि टनेल बनाउने, तिनाउ खोला ३ किलोमिटर बेलिब्रिज बनाउने र मुख्य पहिरो खस्ने तिनाउ तारेर बाटो पारिको पहाडबाट लैजाने जस्ता विकल्पको चर्चामा रहेका छन् । मन्त्री महासेठले काम अगाडी बढाउने भनेपनि यही प्रविधिको प्रयोग गरिने भन्नेमा स्पष्ट बताउन सकेनन् भने प्रक्रिया अगाडी बढाउने मन्त्री भनाई आएपनि सडक विभाग भने के गर्नेमा अलमलमै देखिएको छ ।
प्रदेश नं. ५ र ४ का जिल्लाको मेरुदण्ड सिद्धार्थ राजमार्गलाई खतरामुक्त बनाउने मन्त्री र संसादहरुले भाषण गरेपनि सडक विभागले कुन प्रविधि प्रयोग गर्ने भन्ने बारेमा अध्यन नगरेकाले काम अगाडी बढेको छैन । सुरुङ्गमार्ग सम्बन्धी अध्यायन गर्ने प्राविधिक जनशक्ति सडक विभागमा नभएकाले बजेट भाषणमा सिद्धार्थ राजमार्गको नाम परेपनि सडक निर्माणले गति लिन सकेको छैन । सडक विभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठले भु–वनोट चलाएमान भएकाले गहिरो अध्यन गरी बलियो प्रविधिको प्रयोग गर्नुपर्ने बताउनु भयो । हचुवाको भरमा बजेट विनियोजन गरेर काम थाल्नु खर्चमात्रै समेत हुन सक्ने भएकाले विदेशबाट सक्षम जनशक्ति ल्याए अध्ययान गरिने बताउनु भयो ।

सिद्धार्थ राजमार्गको करिब ३ किलोमिटर क्षेत्रमा १२ महिना पहिरो र ढुङ्गा खसेर धेरैको अकालमा ज्यान गएको छ । २०७२ सालमा खसेको ढुङ्गलाई रोक्नलाई पहाडमा नै ओमेघा नेट प्रविधि ताराजाली बिछ्याउने बजेट खर्च भएपनि त्यो प्रविधि असफल भएको छ । जारजाली राख्न प्रयोग भएको रकम बालुवामा पानी जस्तो भएको छ ।







प्रतिक्रिया दिनुहोस्