
काठमाडौं , १५ जेठ । सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुडिखेलमा औपचारिक कार्यक्रम गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी भएका हुनुहुन्छ ।
यस बर्ष सरकारले सार्वजनिक बिदा कटौती गरेको छ । लोकतन्त्र दिवस, गणतन्त्र दिवस सार्वजनिक विदा वर्तमान सरकारले कटौती गर्दै लोकतन्त्र, गणतन्त्रलाई संविधानले संस्थागत गरेकाले संविधान जारी भएको दिन राष्ट्रिय दिवसको रुपमा मनाउने भन्दै असोज ३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश ५ ले भने आज सार्वजनिक बिदा दिएको छ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ ।
२०६२\०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । २०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यो घोषणासंगै राजतन्त्रका अन्त्य भएको थियो ।

दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ । संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसंगै मुलुक अहिले आर्थिक समृद्धि तर्फ उन्मुख भएको छ । जनताले सरकारबाट आशा र अपेक्षा गरेका छन् ।
टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरिएको भए पनि यस वर्षबाट सार्वजनिक बिदा काटिएको छ । तर प्रदेश ५ ले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।







प्रतिक्रिया दिनुहोस्