
काठमाडौं, १५ जेठ । विवादका बीच नेता बालकृष्ण ढुंगेलको कैद माफी गर्ने निर्णय भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार कैद माफीको प्रस्ताव स्वीकृत गरेकी छिन्।
सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले ८ सय १६ कैदीको कैद मिनाहा गरेकी हुन्। कैद माफीको निर्णय भएको हो।
राष्ट्रपति कार्यालयद्वारा सोमबार बेलुका जारी विज्ञप्तीमा भनिएको छ ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’ राष्ट्रपतिका स्वकिय सचिव शिव भट्टराईका अनुसार सरकारबाट सिफारिस भएको सबैको कैद माफीको निर्णय भएको छ। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वाेच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
जसअनुसार गत कात्तिक १४ गते उनी पक्राउ परेका थिए। कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधानअनुसार उनी छुट्न लागेका हुन्। उनी मंगलबार जेलमुक्त हुने छन्।
उनको माफीविरुद्ध परेको रिटउपर सर्वाेच्चले सोमबार समेत त्यससम्बन्धि फाइल झिकाउने आदेश दिएको थियो।
निर्णय गर्नुअघि राष्ट्रपति भण्डारीले परामर्श गरेकी थिइन्। प्रस्ताव लिएर गृहसचिव प्रेमकुमार राई आफैं राष्ट्रपति कार्यालय पुगेका थिए। सबै प्रक्रिया कानुन सम्वत् नै भएको बताएपछि उनले सरकारको प्रस्तावअनुसार ढुंगेललाई पनि कैद माफीको निर्णय गरेकी हुन्।







प्रतिक्रिया दिनुहोस्