काठमाडौं, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले भन्सारमा कर छली गरी सवारीसाधन भित्र्याइएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको आरोप लगाउनुभएको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले बीवाइडी (BYD) गाडी आयातसँग सम्बन्धित विवादमा अर्थमन्त्रीले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि तथ्यहरूले त्यसलाई पुष्टि नगर्ने बताउनुभयो।
शाहीले जेठ १ गतेदेखि १४ गतेसम्म करिब तीन हजार सवारीसाधन नेपाल भित्रिएको र जेठ २१ गते भन्सार पास भएको दाबी गर्दै यस विषयमा अर्थमन्त्रीको नियतमाथि गम्भीर प्रश्न उठाउनुभयो।
उहाँले करका दर परिवर्तन हुने सूचनाको पूर्वजानकारी केही व्यापारीसम्म पुगेको आरोप दोहोर्याउँदै त्यसबाट निश्चित व्यवसायीलाई लाभ पुग्ने गरी सवारीसाधन आयात गराइएको आशंका व्यक्त गर्नुभयो।
यसअघि पनि शाहीले करका दर हेरफेरसम्बन्धी सूचना चुहावट गरेर व्यापारीलाई गाडी भित्र्याउन सहजीकरण गरिएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभएको थियो।
संसदमा बोल्दै उहाँले उक्त प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गर्नुभयो। “यदि सबै कुरा पारदर्शी छ भने संसदीय छानबिन समिति बनाउन किन आपत्ति ?” भन्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयो।
करका दर हेरफेर र आर्थिक विधेयकसँग सम्बन्धित विवादका विषयमा पछिल्ला दिनमा संसद तथा राजनीतिक वृत्तमा बहस चर्किँदै गएको छ। यद्यपि अर्थमन्त्री वाग्लेले भने यसअघि संसदीय समितिमा आफूले कुनै पनि प्रकारको अनुचित संलग्नता नरहेको स्पष्ट पार्नुभएको थियो।







प्रतिक्रिया दिनुहोस्