काठमाडौं ११ जेष्ठ । नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्र ले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति कडा आपत्ति जनाएका छन्।
काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाइए न्यायपालिकामा राजनीतिक प्रभाव बढ्ने खतरा रहेको चेतावनी दिए।
उनका अनुसार प्रधानन्यायाधीशले प्रत्यक्ष रूपमा पेशी तोक्ने व्यवस्था फर्काइए न्यायालयको निष्पक्षतामा प्रश्न उठ्नेछ र यसले न्यायपालिकालाई असन्तुलित बनाउनेछ। उनले सर्वोच्च अदालतको वर्तमान प्रणाली परिवर्तन गरिए सशक्त आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने संकेत समेत गरे।
बार अध्यक्ष मिश्रले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र संवैधानिक परिषद्को अभ्यासप्रति पनि प्रश्न उठाउँदै राजनीतिक प्रभावका आधारमा नियुक्ति हुने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे।
उनले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को ट्याग लगाउने प्रवृत्ति बढेको भन्दै त्यसले लोकतान्त्रिक बहस कमजोर बनाउने बताए।
न्यायपालिकामा देखिएको वर्तमान परिस्थितिमा कानुन व्यवसायीहरूले विवेकपूर्ण भूमिका खेल्नुपर्ने र न्यायालय तथा न्यायाधीशलाई बलियो बनाउनुपर्ने जिम्मेवारी बारकै भएको उनको भनाइ छ।








प्रतिक्रिया दिनुहोस्