काठमाडौं, २२ वैशाख । काभ्रेपलाञ्चोको रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रोबसबाट ८९ जना यात्रुको सकुशल उद्धार भएको छ ।
सोमबार राति एक्कासी बाढी आएपछि बीच खोलामा माइक्रो बसमा यात्रीहरु फसेका थिए । ती सवारी साधन र यात्रीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो ।जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले सबै यात्रुहरुलाई उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिए ।
डोरी र र्याफ्टिङ बोटको सहायताले यात्रुहरुकोउद्धार गरेको उनले बताए ।यात्रीहरुको उद्धार गर्न जिल्ला प्रहरी प्रमुख शाहसहित सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी, नेपाली सेना लगायतको टोली खटिएको थियो ।वर्षा र बाढीका कारण बीपी राजमार्गका विभिन्न खण्ड क्षतिग्रस्त भएकाले सवारी आवागमन प्रभावित भएको छ ।
काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रमा अत्याधिक वर्षापछि श्रीखण्डपुरमा फसेको एक स्कुल बसबाट ३५ जना विद्यार्थीहरूको उद्धार गरिएको थियो । उनीहरुलाई सशस्त्र प्रहरी बल १५ नम्बर गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्