काठमाडौँ, ९ बैशाख । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको विषयलाई भारतीय सञ्चारमाध्यमले महत्वका साथ प्रकाशन, प्रशारण गरेका छन् । एबीपी न्युजले लेखेको छ, ‘भ्रष्टाचारको आरोप लागेपछि बालेन शाहका गृहमन्त्रीले दिए २६ दिनमा राजीनामा ।’
२६ दिनअघि गृहमन्त्री बनेका सुधन भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा उत्रिएको तर उनीमाथि नै सम्पत्ति विवरणमा लगानी लुकाएको र विभिन्न कम्पनीमा गरिएको सेयर लगानीमा विवाद देखिएपछि आफैँ राजीनामा दिन बाध्य भएका हुन् ।
त्यसैगरी आज तकले भ्रष्टाचारको आरोप लागेपछि तीन हप्तामा नेपालका गृहमन्त्रीले राजीनामा दिएको उल्लेख गरेको छ । समाचारमा आम्दानीभन्दा बढी सम्पति देखिएपछि गुरुङले राजीनामा दिएको बताइएको छ ।
एनडिटिबी लाइभले नेपालको बालेन सरकारमाथि दुई हप्तामा दोस्रो दाग शीर्षकमा लेखेको छ, ‘स्वास्थ्य मन्त्रीपछि गृहमन्त्री विवादमा ।’ बिचौलिया दीपक भट्टसँग व्यापारिक कारोबार र साझेदारीको आरोप लागेपछि ३८ वर्षे गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको उक्त टेलिभिजनको समाचारमा उल्लेख छ ।
भारतीय सञ्चारमाध्यम देशबन्धुले पारदर्शिता र जवाफदेहिता अभावको कारण नैतिकताको आधारमा मन्त्री राजीनामा दिन बाध्य भएको लेखेको छ ।
बनारस ग्लोबल टाइम्सले प्रधानमन्त्री बालेन शाहलाई अर्को झट्का शीर्षकमा २६ दिनमा गृहमन्त्रीले राजीनामा दिएको उल्लेख गरेको छ । अर्को अनलाइन वन इण्डिया डट कमले संकटमा बालेन सरकार, गृहमन्त्रीद्वारा राजीनामा, स्वाथ्यमन्त्रीले पहिले छोडे पद भन्दै शाह सरकारको प्रारम्भिक दिनहरु निकै कष्टकर देखिएको उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्