काठमाडौं, २९ चैत्र ।प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आज निधन भएको छ ।आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिने भोसलेको मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । हृदयघात भएपछि हिजो उनलाई अस्पताल भर्ना गरिएको थियो ।
आशा भोसले अर्की चर्चित गायिका लता मङ्गेशकरकी बहिनी हुन् । सन् १९३३ मा मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन शुरू गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो चलचित्र गीत रेकर्ड गरेकी थिइन् । झन्डै तीन दशमसम्म उनी धेरैजसो सङ्गीतकारहरूको रोजाइको गायिका बनिन् ।आशा भोसलले २० वटा भाषामा १२ हजारभन्दा धेरै गीत गाएकी छिन् । उनका ‘चुरालिया है तुम ने जो दिलको’, ‘दिल चीज क्या है’, ‘दम मारो दम’, ‘ए मेरा दिल’, ‘जवानी जाने मन’, ‘रङ्गीला रे’ लगायत थुप्रै गीतहरू चर्चित छन् ।भोसलेले ‘गैरी खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘वसन्त नै बस्न खोज्छ’, यहाँ ‘पहाडको माथिमाथि’, ‘दियो बाली साँझ को’, ‘तिमी मेरो म तिम्रो’ लगायतका नेपाली गीतहरू पनि गाएकी छिन् ।








प्रतिक्रिया दिनुहोस्