काठमाडौं, १६ चैत्र। कांग्रेस विभाजनतर्फ उन्मुख हुँदै गएको छ। गत पुस अन्तिममा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसमा बढेको दूरी थप बढ्दै गएको हो।
चुनावका बेला केही मत्थर भएको कांग्रेसको आन्तरिक कलह विस्तारै बढ्न थालेको छ। पार्टीका दुवै समूहले समानान्तर गतिविधिलाई तीव्रता दिन थालेका छन्। समानान्तर गतिविधिले कांग्रेस औपचारिक विभाजनका लागि आधार तयार पार्दै लगेको अनुभूति हुन थालेको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई माघ २ गते औपचारिकता दिएपछि कांग्रेसभित्रको असन्तुष्टि उत्कर्षमा पुगेको थियो।
लगत्तै माघ ६ गते प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने समयको दबाबका कारण कांग्रेसभित्रको अन्तरसंघर्षमा ‘विराम’ लागेको थियो।
आपसी विवाद स्थगित गरेर शेरबहादुर देउवा पक्ष पनि थापाले बाँडेको टिकट लिएरमा चुनावमा होमियो। चुनावको अवधिभर नसुनिएको कांग्रेसको विवाद चुनावी परिणाम सार्वजनिक भएपछि पुनः उत्कर्षतर्फ उन्मुख भएको छ।
कांग्रेस इतिहासमै सबैभन्दा कमजोर हैसियतका साथ संसद्मा उपस्थित हुन पुगेको छ। प्राविधिक हिसाबले दोस्रो ठूलो दल भए पनि संख्याको हिसाबले कांग्रेस पहिलो भएको रास्वपाभन्दा पाँच गुणा सानो भएको छ।
रास्वपाले १८२ सिट जित्दा कांग्रेस जम्मा ३७ सिटमा खुम्चिएपछि त्यसको जस–अपजसलाई लिएर आरोप प्रत्यारोप सुरु भएको छ। देउवा पक्षले विशेष महाधिवेशनलाई जनताले अस्वीकार गरेको जिकिर गरेको छ भने थापा पक्षले पार्टी रुपान्तरण भएको कुरा आम मतदतासमक्ष पुर्याउन नसक्दा र पुरानो नेतृत्वको कारण चुनावमा धक्का खानु परेको जनाएको छ।
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विषयपछि कांग्रेसमा समानान्तर गतिविधि थप बढ्न थालेको छ। शनिबार पक्राउ परेका ओली–लेखकबारे आइतबार कांग्रेस दुई खेमाले फरक–फरक विज्ञप्ति जारी गरे।
विशेष महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिका तर्फबाट प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गरे भने देउवा–शेखर समूहबाट कार्यवाहक सभापतिका नाममा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर आपत्ति जनायो। चालिसेले भदौ २३ र २४ गते दुवै दिनका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
‘भदौ २३ र २४ का घटनाका सम्बन्धमा सम्बन्धित व्यक्ति तथा संस्थाहरूको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजनलगायत सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाइनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ। हामी फेरि पनि प्रष्ट गर्न चाहन्छौँ,’ चालिसेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ गतेको घटनामा संलग्नसँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ। दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ।’
उता खड्काले कार्यवाहक सभापतिकै हैसियतमा निकालेको विज्ञप्तिमा भने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै रिहाइ गर्न माग गरे।
‘कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ। त्यसको लगत्तै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसैगरी पक्राउ गरी दुवै जना नेताहरुलाई अवैध हिरासतमा राखेको छ,’ खड्काले अगाडि भने, ‘संविधान र प्रचलित कानुनविपरीत गरिएको यस कार्यको हामी भत्सर्ना गर्दछौँ। साथै उहाँहरुको तत्काल रिहाइको जोडदार माग गर्दछौँ।’
खड्काले कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति निकालेपछि विशेष महाधिवेशन पक्षधहरुले यस विषयमा छलफल नै गरेका छन्। अनधिकृत रुपमा पार्टीको लेटरहेड र नभएको पदीय हैसियतको दुरुपयोग नगर्न विशेष महाधिवेशन पक्षधरले चेतावनी दिए पनि देउवा–शेखर समूह रोकिने छाँटमा देखिँदैनन्।
विशेष महाधिवेशनबाट निर्वाचित एक पदाधिकारीले भने, ‘उहाँहरुले नभएको पदीय हैसियत छ भनेर पार्टीको लेटरहेड दुरुपयोग गर्नुभएको छ। यस्ता गतिविधि नगर्दा राम्रो हुन्छ।’
तर, देउवा कोइराल पक्ष भने रोकिनेभन्दा पनि समान्तर गतिविधि थप बढाउने योजनामा छन्। उनीहरुले सोमबार सांसदहरुलाई बोलाएर निर्देशनसमेत दिएका छन्।
नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा कार्यवाहक सभापति मानिँदै आएका खड्काले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्न आग्रह गरे।
उनले सांसदहरुलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न निर्देशन दिए। देउवा–कोइराला पक्षले बोलाएको कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु टेकबहादुर गुरुङ, सुशीला ढकाल, विष्णु खड्का, रिना उप्रेती केसी, गंगालक्ष्मी अवाल, सीता थपलिया (उर्मिला), रुक्मिणी कोइराला, निनु कर्ण, हरिनादेवी कामी, गीता सेन्दाङ सहभागी भए।
त्यस्तै, राष्ट्रियसभाका जितजंग बस्नेत, रन्जित कर्ण, गीता देवकोटा, खम्मबहादुर खाती, चन्द्र केसी र जगत तिमिल्सिना सहभागी भए।
खड्काले केन्द्रीय समितिको बैठकसमेत आह्वान गरेका छन्। नेता जितजंग बस्नेतले मंगलबार र बुधबार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आह्वान भएको जानकारी दिए। त्यस्तै, यो समूहले चैत १९ गते काठमाडौँमा जिल्ला सभापतिहरुको समेत भेला बेलाएको छ।
पार्टीमा आफूहरुलाई हेरेको हेर्यै पारेकाले अब अघि बढ्ने बस्नेतले जानकारी दिए। उनले भने, ‘हामी त हेरेको हेर्यै भयौँ। अब आफ्ना गतिविधि लिएर अघि बढ्छौँ।’ यो पक्षले कम्तिमा सर्वोच्चबाट आधिकारिकता विवाद नटुंगिएसम्म सक्रिय हुने योजना बनाएको छ।
देउवा–कोइराला समूह आक्रामक रुपमा अघि बढेपछि विशेष महाधिवेशन पक्षधर थप सशंकित भएको छ। अर्को पक्षको गतिविधि निस्तेज पार्न सघन छलफलमा जुटेको छ। पार्टी कार्यालयमा दैनिकजसो अनौपचारिक बैठक गरिरहेका छन्।
सोमबार पनि अर्को पक्षको गतिविधिबारे कुराकानी भएको एक नेताले जानकारी दिए। विशेष महाधिवेशन पक्षधरले १८ गते केन्द्रीय अनुशासन समितिको बैठक पनि बोलाएको छ। सम्भवतः यो बैठकले अर्को पक्षका नेतामाथि अनुशासनहीन काम गरेको भन्दै कारबाही गर्नेछ।
प्रवक्ता चालिसे पार्टीका सबै नेता कार्यकर्ता अनुशासनभित्र रहनुपर्ने बताउँछन्। ‘पार्टीको लक्ष्मण रेखा सबैले ख्याल गर्नुपर्छ। विधान मान्नुपर्छ,’ देउवा कोइराला समूहतर्फ लक्षित गर्दै उनले अगाडि भने, ‘पार्टीलाई क्षति पुग्ने काम कारबाही गरिनु हुन्न। त्यो तहका नेताहरुले समानान्तर गतिविधि रोक्नुपर्छ।’








प्रतिक्रिया दिनुहोस्