पाल्पा, ८ चैत्र । पाल्पामा शनिबार बेलुकी टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका– ४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार रहेका छन्। अन्य दुई जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले बताए।
तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्।माथागढी गाउँपालिकाको झडेवाबाट रहबास चुन ढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका ७ रहबास स्थित झडेवा रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी ६ बजे दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रनाउ चौधरीले बताए।
अर्का एक गम्भीर घाइतेको पाल्पामा उपचार भइरहेको छ। टिपर सडक भन्दा ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्