काठमाडौं, ६ चैत्र । आज (शुक्रबार) र भोलि (शनिबार) देशका अधिकांश ठाउँमा भीषण हावाहुरी र चट्याङसहित असिनापानी पर्ने आकलन गरिएको छ । आज पश्चिमी क्षेत्रमा र भोलि पूर्वी क्षेत्रमा भारी वर्षा र हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको छ ।
साथै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि तीव्र गतिमा हुरी चल्ने अनुमान छ ।शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका ठाउँमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।कोशी र सुदूरपश्चिमका केही ठाउँमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिमका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशीका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति पनि कर्णाली, सुदूरपश्चिम र गण्डकीका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
हुरीका कारण रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न तथा हावाहुरी चलेका बेला घरको इन्धन बन्द गर्न, सुरक्षित ठाउँमा बस्न र गाडी नचलाउन भनेको छ । साथै कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुन सक्ने भएकाले विद्युत् उपकरण नचलाउनसमेत प्राधिकरणको अनुरोध छ ।‘प्रि(मनसुनको अवधि पनि रहेकाले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन्छ।
पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसहरूको मृत्यु तथा घाइते भएका छन्’, प्राधिकरणले भनेको छ, ‘उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ ।’








प्रतिक्रिया दिनुहोस्