काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ भने समानुपातिकतर्फ पनि गणना जारी छ। निर्वाचन आयोगको प्रगति हेर्दा अबको एक–दुई दिनभित्रै सम्पूर्ण मतगणना सम्पन्न हुने अनुमान गरिएको छ।
मतगणना अन्तिम चरणमा पुगेसँगै अब देशमा नयाँ सरकार कहिले बन्छ र नयाँ प्रधानमन्त्री कहिले नियुक्त हुन्छन् भन्ने प्रश्न प्रमुख रूपमा उठ्न थालेको छ।
आयोगको प्रतिवेदनपछि मात्रै सरकार गठन प्रक्रिया
प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मतको आधारमा समानुपातिक सिट बाँडफाँट गर्नेछ। त्यसपछि कुन दलले कति सिट पायो र कुन–कुन दल राष्ट्रिय दल बने भन्ने विषय स्पष्ट हुन्छ।
सीट निर्धारण भएपछि सम्बन्धित दलहरूले क्लस्टरअनुसार समानुपातिक सांसदहरूको नामावली आयोगमा बुझाउनुपर्ने हुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. का अनुसार आयोगले फागुन मसान्तसम्म सबै प्रक्रिया पूरा गरी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरिरहेको छ।
यसअनुसार ढिलोमा चैतको पहिलो साताभित्र राष्ट्रपति कार्यालयमा निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन पुग्ने सम्भावना देखिएको छ।
संविधानको धारा ७६ अनुसार सरकार गठन
निर्वाचन आयोगबाट प्रतिवेदन प्राप्त भएपछि मात्र राष्ट्रपतिले औपचारिक रूपमा सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्। हाल राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा छन् र नयाँ सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया उनीबाटै सुरु हुनेछ।
संविधानविद्हरूका अनुसार निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गरेपछि संविधानको धारा ७६ अनुसार सरकार गठनको चरणबद्ध प्रक्रिया सुरु हुन्छ।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
उक्त धारामा भनिएको छ:
“राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ।”
यसरी धारा ७६ (१) अनुसार सरकार बनेमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनु पर्दैन।
संसद् अधिवेशन ३० दिनभित्र
संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ।
त्यसैले निर्वाचन परिणाम सार्वजनिक भएको मितिबाट एक महिनाभित्र संसद् बैठक बस्नुपर्ने संवैधानिक बाध्यता पनि छ।
रास्वपाको नेतृत्वमा सरकार बन्ने संकेत
हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिक मत परिणाम हेर्दा पनि दलले बहुमत नजिकको सिट प्राप्त गर्ने अनुमान गरिएको छ।
यस अवस्थाले संविधानको धारा ७६ (१) अनुसार रास्वपाको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बलियो देखिएको छ।
यदि परिणाममा ठूलो परिवर्तन नआएमा पूर्वघोषणाअनुसार बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल मानिएको छ।
सम्भावित समय
समग्र प्रक्रिया हेर्दा—
- फागुन अन्तिमसम्म निर्वाचन आयोगको प्रक्रिया पूरा
- चैत पहिलो सातासम्म राष्ट्रपतिसमक्ष प्रतिवेदन
- त्यसपछि सरकार गठनको आह्वान
यस हिसाबले चैतको दोस्रो सातातिर मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना देखिएको छ।








प्रतिक्रिया दिनुहोस्