कास्की।एबीसी टेलिभिजनको विशेष कार्यक्रम इलेक्सन एक्सप्रेस अन्तर्गत कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार तिलक रानाभाटसँग गरिएको कुराकानीमा उनले आफ्नो क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेका छन्। कार्यक्रमका क्रममा उनले पूर्वाधार मात्र होइन, उत्पादन र रोजगारी केन्द्रित आर्थिक रूपान्तरण आफ्नो मुख्य एजेन्डा भएको बताए।
रानाभाटले कास्की–१ मा दुई गाउँपालिका र पोखरा महानगरपालिकाका ११ वडासहित ३० वडामा घरदैलो कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको जानकारी दिए। मतदाताबाट “सुध्रिएको कांग्रेस र भरपर्दो नेतृत्व”को अपेक्षा प्राप्त भइरहेको उनको दाबी छ।
प्राकृतिक स्रोतको सदुपयोगमा जोड
उनले मादी नदी क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई स्थानीय जनताको हितमा उपयोग गर्नुपर्ने बताए। “उत्पादनकर्ता, लगानीकर्ता र स्थानीय बासिन्दा—तीनै पक्षको हित सुरक्षित हुने गरी जलस्रोतको उपयोग हुनुपर्छ,” उनले भने।
लेक क्षेत्रमा पाइने अमूल्य जडीबुटी, सुन्तला खेतीको सम्भावना, कृषि योग्य फाँट र सिँचाइको अभावका कारण उत्पादनमा आएको सीमितता हटाउने योजना पनि उनले सुनाए। सात ताल क्षेत्रलाई व्यवस्थित पूर्वाधारसहित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सडक, बिजुली र संरक्षणमैत्री पूर्वाधार विस्तारमा जोड दिए।
पोखरा विमानस्थललाई ‘लाइफलाइन’ बनाउने प्रतिबद्धता
रानाले पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई कास्की मात्र नभई देशकै आर्थिक मेरुदण्ड बनाउनुपर्ने बताए। “लाखौं पर्यटक भित्र्याउने सम्भावना हुँदाहुँदै पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकेका छैनौं,” उनले भने, “व्यवसायिक दृष्टिकोणबाट सञ्चालन व्यवस्थापन सुधार गरिनुपर्छ।”
पूर्वाधार मात्र होइन, उत्पादन र आम्दानीमा ध्यान
उनले विकासलाई केवल सडक, पुल र भवनमा सीमित नगरी मानवीय विकास र आयआर्जनसँग जोड्नुपर्ने धारणा राखे। “घरअगाडि कालोपत्रे सडक भए पनि गोजीमा पैसा छैन भने विकासको अनुभूति हुँदैन,” उनले भने।
कृषिलाई निर्वाहमुखीबाट व्यवसायमुखी बनाउने, उत्पादनको ग्यारेन्टी गर्ने र राज्यले बजार व्यवस्थापनमा जिम्मेवारी लिनुपर्ने उनको जोड छ। “किसानले उत्पादन गरोस्, बजार र मूल्यको ग्यारेन्टी राज्यले गरोस्,” उनले स्पष्ट पारे।
अनुदानमा पारदर्शिता र कार्यकर्तामुखी राजनीति अन्त्य गर्ने अठोट
रानाले विगतमा कृषकसम्म अनुदान नपुगी कागजी प्रक्रियामा सीमित भएको आरोप लगाउँदै आफूले कार्यकर्तामुखी वितरण प्रणाली अन्त्य गर्ने प्रतिबद्धता जनाए। “राजनीति आश्वासन बाँड्ने माध्यम होइन, परिणाम दिने माध्यम हुनुपर्छ,” उनले भने।
कांग्रेसभित्र एकता, कार्यकर्तामा उत्साह
नेपाली कांग्रेसभित्र अहिले एकता बलियो रहेको दाबी गर्दै उनले आफू लामो समयदेखि पार्टी र समाजसेवामा सक्रिय रहेको स्मरण गराए। २०४२ सालदेखि निरन्तर सक्रिय राजनीति गरेको उल्लेख गर्दै उनले यसपटक जनताले अवसर दिनेमा विश्वस्त रहेको बताए।
रानाले अन्त्यमा भने, “हामी वडा सदस्यको जस्तो सानो काममा अल्झिन होइन, समग्र देशको नीति निर्माण र आर्थिक रूपान्तरणका लागि उम्मेदवार बनेका हौं। जनताको अपेक्षा ठूलो छ, त्यसलाई नीतिगत र संरचनागत परिवर्तनबाट सम्बोधन गर्छौं।”
कास्की–१ मा चुनावी सरगर्मी बढिरहँदा उत्पादन, पर्यटन र पारदर्शितालाई केन्द्रमा राखेर रानाले अघि सारेको एजेन्डाले मतदातामा कत्तिको प्रभाव पार्छ, त्यो मतपेटिकाले नै तय गर्नेछ।








प्रतिक्रिया दिनुहोस्