काठमाडौं : नेपाली कांग्रेसले अब चुनाव जित्न ‘घर फर्क’ अभियान सुरु गरेको छ। पार्टीले आफ्ना नेता–कार्यकर्तालाई बाहिर भड्किन नदिने, ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ भन्ने कडा रणनीति पारित गरेको छ।
आज बिहान भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२ पारित गर्दै यो नीति औपचारिक बनाएको हो।
निर्देशिकाको बुँदा नम्बर २१ मा स्पष्ट लेखिएको छ:
“फागुन २१ को आम निर्वाचनका लागि ‘मेरो २१ दिन’ प्रतिबद्धतासहित फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ नीति अन्तर्गत सबै साथीहरू चुनावी मैदानमा खटिनुहुनेछ।”
मुख्य रणनीति एकै वाक्यमा
- केन्द्रीयदेखि वडासम्मका पदाधिकारी अब आफ्नै क्षेत्र छोडेर अन्यत्र घुम्न पाउने छैनन्।
- विशेष जिम्मेवारी लिएर बाहिर गएकाबाहेक सबैले आफ्नै वडा, पालिका र क्षेत्र मा केन्द्रित हुनुपर्ने।
- एउटा वडाको सदस्य अर्को वडामा नजाने – “हाम्रो वडा हामी जिताउँछौं” नारा बोकेर आफ्नै घरआँगनमा खटिने।
- पार्टीका सबै भ्रातृ संगठन र शुभेच्छुक संस्था ले पनि यही नियम पालना गर्नुपर्ने।
उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचन परिचालन निर्देशिका–२०८२ र सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२ प्रस्तुत गरेका थिए। दुवै निर्देशिका सर्वसम्मतिले पारित भएका छन्। शर्मा स्वयं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक हुन्।
अब ‘घर–घर, वडा–वडा’ मैदान
यो नीतिले पार्टीभित्र लामो समयदेखि चलेको ‘केन्द्रमा बसेर टिकट माग्ने, जिल्लामा नजाने’ प्रवृत्तिलाई रोक्ने प्रयास गरेको नेताहरूले बताएका छन्। अब फागुन १ देखि २१ गतेसम्मका २१ दिनलाई ‘मेरो २१ दिन’ अभियानका रूपमा मनाइने र प्रत्येक कार्यकर्ताले आफ्नो वडामा बसेर मतदातासँग जोडिनुपर्ने भएको छ।
पार्टीका एक नेताले भने, “अब काठमाडौं बसेर फेसबुकमा स्टाटस लेखेर जितिँदैन। वडाको मतदाताले चिनेको मान्छे वडामै पुग्नुपर्छ। यो रणनीति त्यसैका लागि हो।”
नेपाली कांग्रेसले यो निर्देशिका पारित गरेसँगै आगामी निर्वाचनमा स्थानीय तहदेखि नै बलियो आधार बनाउने रणनीति अघि सारेको छ। अब सबैको नजर फागुन १ गतेदेखि सुरु हुने ‘होम ड्यूटी’ अभियानमा केन्द्रित भएको छ।








प्रतिक्रिया दिनुहोस्