काठमाडौं। आसन्न आम निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाको राजनीतिक तापक्रम चुलिँदै गएको छ। राजधानीका १५ निर्वाचन क्षेत्र केवल सिटको प्रतिस्पर्धा मात्रै होइन, दलहरूको राजनीतिक हैसियत र भविष्यको दिशानिर्देशक बन्ने केन्द्रसमेत बनेका छन्। यही सन्दर्भमा नेकपा एमालेको वर्तमान अवस्था, नेतृत्वमाथि उठेका प्रश्न, ‘नयाँ बनाम पुरानो’ राजनीतिक बहस र भदौ २३–२४ पछिको जनआन्दोलनबारे पार्टीको दृष्टिकोण के छ भन्ने विषयमा एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रममा आउटलुकमा प्रधानसम्पादक शुभशंकर कँडेल सँगको कुराकानीमा नेकपा एमालेका वरिष्ठ नेता इश्वर पोखरेलले खुला धारणा राख्नुभएको छ।
महाधिवेशनपछि एमाले: पराजय कि प्रतिस्पर्धाको स्वीकृति?
हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट बाहिर रहनु परेका पोखरेलको अवस्थालाई कतिपयले ‘संस्थापनसँगको दूरी’ का रूपमा व्याख्या गरेका थिए। तर पोखरेल स्वयंले भने पार्टीभित्र ‘इतर’ भन्ने अवधारणालाई अस्वीकार गर्नुभयो।
“एमाले प्रतिस्पर्धाको राजनीतिमा विश्वास गर्ने पार्टी हो। प्रतिस्पर्धा भएपछि हार–जित दुवै स्वीकार्नुपर्छ। यसलाई इतर–भितरको रूपमा बुझ्नु गलत हुन्छ,” पोखरेलको भनाइ छ।
पार्टी जीवनमा पहिलोपटक औपचारिक प्रतिस्पर्धामा पराजय बेहोर्नु परेको स्वीकार गर्दै उहाँले त्यसलाई अस्वाभाविक घटना नभएको बताउनुभयो। “जित मात्रै होइन, हारको सम्भावना स्वीकार नगरी प्रतिस्पर्धामा उत्रनु हुँदैन,” उहाँको आत्मस्वीकृतिपूर्ण टिप्पणी थियो।
टिकट ‘होल्ड’ भयो? मिसकम्युनिकेसनको कथा
काठमाडौं–५ बाट उम्मेदवार चयनको क्रममा टिकट रोकियो भन्ने चर्चा पनि व्यापक थियो। तर पोखरेलले त्यसलाई ‘मिसकम्युनिकेसन’ मात्र भएको दाबी गर्नुभयो। उहाँका अनुसार वडा, क्षेत्र, जिल्ला र प्रदेश कमिटी सबैबाट एकल सिफारिस भएपछि मात्र उम्मेदवारी टुंगो लागेको हो।
“मैले पार्टी कमिटीलाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्नुस् भनेको हुँ। जित्न सक्ने, उपयुक्त उम्मेदवार को हो भन्ने निर्णय गर्ने जिम्मा कमिटीकै हो,” उहाँले स्पष्ट पार्नुभयो।
ओखलढुंगा, धनुषा जस्ता भावनात्मक सम्बन्ध भएका क्षेत्रबाट पनि सिफारिस आएको भए पनि ‘पुरानो लिगेसी’ कै भरमा चुनाव लड्नु उपयुक्त नठानेको उहाँको तर्क थियो।
महाधिवेशनपछि एमाले कति एकताबद्ध?
महाधिवेशनपछि एमाले भावनात्मक रूपमा विभाजित छ कि एकताबद्ध? भन्ने प्रश्नमा पोखरेलले ‘एकता भाषणले होइन, कामले देखिने’ धारणा राख्नुभयो।
“टिकट नपाएका नेताहरू समेत फिल्डमा खटिएका छन्। योगेश भट्टराई, गोकुल बास्कोटाजस्ता नेताहरू कमाण्डरकै भूमिकामा सक्रिय छन्,” उहाँले उदाहरण दिनुभयो।
यसले पार्टी भित्र देखिएको असन्तुष्टि चुनावी अभियानमा रूपान्तरण भइसकेको संकेत गर्छ।
भदौ २३–२४ र ‘जेनजी आन्दोलन’: स्वीकारोक्ति र आरोप
भदौ २३–२४ को घटनालाई लिएर पोखरेलको धारणा पार्टीको औपचारिक लाइनभन्दा केही फरक र विश्लेषणात्मक देखिन्छ। उहाँले जेनजी समूहले उठाएका मागहरू उचित रहेको स्वीकार्नुभयो, तर त्यसको आवरणमा ‘गम्भीर षड्यन्त्र’ भएको दाबी गर्नुभयो।
“मागहरू सही थिए, तर त्यसलाई प्रयोग गरेर देशलाई अस्थिर बनाउने प्रयास भयो,” उहाँको भनाइ थियो।
यसमा पार्टी र राज्य संयन्त्रले समयमै गम्भीरता नबुझेको स्वीकारोक्तिसमेत उहाँले गर्नुभयो।
नयाँ बनाम पुरानो: उमेर कि दृष्टिकोण?
राजनीतिमा ‘नयाँ चाहियो’ भन्ने भाष्यप्रति पोखरेल आलोचनात्मक देखिनुहुन्छ। उहाँका अनुसार नयाँपन उमेरमा होइन, गतिशीलतामा हुन्छ।
“जो गतिमा विश्वास गर्छ, ऊ कसरी पुरानो हुन्छ? गतिहीन मात्र पुरानो हो,” उहाँको तर्क छ।
सिर्फ ‘नयाँ’ भन्ने नाममा न त स्पष्ट कार्यक्रम, न मार्गचित्र, न संगठनात्मक क्षमता भएका शक्तिहरूलाई विकल्प मान्न नसकिने उहाँको ठम्याइ छ।
एमालेको उपलब्धि र कमजोरी: आत्मालोचना पनि
राष्ट्रियता, ठूला पूर्वाधार, सामाजिक न्यायका सवालमा एमालेको योगदान उल्लेखनीय रहेको दाबी गर्दै पोखरेलले वृद्धभत्ता, सामाजिक सुरक्षा, औद्योगिक ग्राम, पूर्वाधार विस्तारजस्ता कार्यक्रम उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।
तर उहाँले भ्रष्टाचार र सुशासनमा कमजोरी भएको स्वीकार्न पनि पछि पर्नुभएन।
“डेलिभरी प्रभावकारी हुन सकेन। यही असन्तुष्टिले आज पपुलिजम जन्माएको हो,” उहाँको स्वीकारोक्ति थियो।
अब एमाले के भन्छ मतदातालाई?
आगामी घोषणापत्र ‘लामा भाषण होइन, डेलिभरी केन्द्रित’ हुने पोखरेलको दाबी छ। सुशासन, सेवा प्रवाह, प्रशासनिक सुधार र प्रभावकारी कार्यान्वयन एमालेको मुख्य एजेन्डा हुने उहाँले संकेत गर्नुभयो।
निर्णायक शक्ति बन्ने लक्ष्य
एमालेले आफूलाई अझै ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउन नसकेको स्वीकार गर्दै उहाँले अब बहुमतसहित सरकार चलाउने लक्ष्य स्पष्ट गर्नुभयो। नेतृत्वबारे प्रश्न उठे पनि महाधिवेशनले अध्यक्ष ओलीलाई वैधानिक नेतृत्व दिएको र त्यसको राजनीतिक उत्तरदायित्व नेतृत्व स्वयंले जनतामाझ दिने उहाँको धारणा छ।







प्रतिक्रिया दिनुहोस्