काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो देश दौडाहा चुनावी प्रचारभन्दा बढी धार्मिक तीर्थयात्रा जस्तो देखिन थालेको छ। मतदातासँग प्रत्यक्ष संवाद, नीति र कार्यक्रमको प्रस्तुतीकरणभन्दा मठ–मन्दिर दर्शनलाई प्राथमिकतामा राखिएको यो यात्रा धर्मनिरपेक्ष संविधानको मर्मसँग ठोक्किएको भन्दै गम्भीर प्रश्न उठ्न थालेका छन्।
रास्वपाले प्रतिनिधिसभा निर्वाचन २०७९ मा सार्वजनिक गरेको ‘हामी र हाम्रो वाचा’ घोषणापत्रको बुँदा नम्बर ६ मा संघमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहने शासकीय स्वरूपको परिकल्पना गरिएको छ। यही अवधारणाअनुसार पार्टीले संसदीय व्यवस्थामै राष्ट्रपतीय निर्वाचन शैलीको प्रचार अभियान चलाउँदै आएको छ। यसपटक बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर देश दौडाहामा उतारिएको छ।
दलले आफ्नो आदर्शमा ‘संवैधानिक समाजवाद (समाजवाद उन्मुख संविधानवाद)’ को प्रतिबद्धता जनाउँदै संविधानको सम्मान, संवैधानिक मर्मको पालना र नागरिक अधिकारको संरक्षणको कुरा गर्छ। तर व्यवहारमा रास्वपामा संविधानका चार आधारभूत स्तम्भ—संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र र धर्मनिरपेक्षताप्रति नीतिगत अन्योल देखिँदै आएको छ। लिखित दस्ताबेजमा प्रतिबद्धता देखिए पनि व्यवहारमा देखिने संकेतहरू त्यससँग मेल खाँदैनन्।
मन्दिरबाट शुरू भएको चुनावी यात्रा
काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट माघ ४ गते राजीनामा दिएपछि बालेन्द्र शाह मन्दिर दर्शनमा निस्किएको प्रचारबाजीसहित काठमाडौं उपत्यका बाहिरिए। त्यही दिन साँझ जनकपुर पुगेका उनी माघ ५ गते बिहान जानकी मन्दिरमा पुगेर महन्तसँग भेटघाट र आशीर्वाद लिए। यी गतिविधिहरू योजनाबद्ध रूपमा डिजिटल प्लेटफर्ममार्फत प्रचार गरिए।
त्यसै दिनको आमसभामा मैथिली भाषामा सम्बोधन गर्दै उनले आफूलाई ‘मधेशको छोरो’ का रूपमा प्रस्तुत गरे। काठमाडौं महानगरको चुनावमा ‘ठकुरी शाह’ को पहिचानबाट डिजिटल ब्रान्डिङ गरिएको बालेन्द्रलाई यसपटक जनकपुरमा ‘मधेशी साह’ को रूपमा प्रस्तुत गरिएको देखियो। संघीयताको विरोधस्वरूप २०७९ मा प्रदेशसभा उम्मेदवारलाई मतदान नगर्ने अभिव्यक्ति दिएका बालेन्द्रले यसपटक संघीयताको समर्थनमा भाषण मात्र गरेनन्, मधेश आन्दोलनका शहीद रमेश महतोको लहानस्थित शालिकमा माल्यार्पणसमेत गरे।
संघीयताको मेरुदण्ड मानिने प्रदेशसभामा उम्मेदवारी नदिने र मतदान बहिष्कार गर्ने नीति लिएको रास्वपा नेतृत्व र बालेन्द्र शाहको यो बद्लिँदो व्यवहार वैचारिक परिवर्तन हो कि चुनावी अवसरवाद? मतदाताले यसलाई गम्भीर रूपमा नियाल्नुपर्ने अवस्था आएको छ।
तीर्थाटनजस्तो प्रचार अभियान
जनकपुरपछि बालेन्द्र माघ ६ गते झापा पुगे, मनोनयन दर्ता गरे र त्यसपछि पूर्वी पहाडतर्फ लागे। पाथीभरा/मुक्कुमलुङ जस्ता धार्मिक स्थल उनको यात्राको मुख्य गन्तव्य बने। त्यहाँको दर्शनको तस्वीर सार्वजनिक गरियो। त्यसपछि काठमाडौं फर्किएका उनी हाल नेपालगन्ज हुँदै सुदूरपश्चिमका जिल्लामा घुमिरहेका छन्।
तर जनकपुरबाहेक अन्य स्थानमा उनले ठूला आमसभा वा मतदातासँग प्रत्यक्ष नीति संवाद गरेका छैनन्। बरु, पूर्वराजा ज्ञानेन्द्रको शैली सम्झाउने गरी गाडीको ‘मुनरूफ’बाट हात हल्लाउँदै अभिवादन फर्काउने दृश्यहरू प्रचारमा छन्। रास्वपाले जितेपछि के नीति लागू गर्छ? संविधानका विवादित प्रावधानहरूलाई कसरी सम्बोधन गर्छ? पाँच वर्षे कार्ययोजना के हो? यी प्रश्नमा बालेन्द्रको स्पष्ट जवाफ सार्वजनिक भएको छैन।
धर्म र राजनीति मिसिँदै?
रास्वपाका प्रस्तावित प्रधानमन्त्रीको यात्रा भारतमा नरेन्द्र मोदीले अपनाएको धार्मिक स्थल केन्द्रित चुनावी रणनीतिसँग तुलना हुन थालेको छ। भारतमा धर्म–राजनीतिको प्रयोगले सामाजिक सद्भावमा गहिरो असर पारेको उदाहरण छ। नेपालजस्तो बहुधार्मिक र बहुसांस्कृतिक समाजमा यस्तो प्रवृत्ति झन् संवेदनशील मानिन्छ।
व्यक्तिगत आस्थाका कारण धार्मिक स्थल जानु स्वाभाविक हो। तर चुनावी प्रतिस्पर्धामा रहेका प्रस्तावित प्रधानमन्त्रीले बहुसंख्यक धर्मलाई मात्र दृश्य रूपमा प्राथमिकता दिँदा अल्पसंख्यक समुदायमा के सन्देश जान्छ? के यसले उनीहरूलाई आश्वस्त बनाउँछ? दक्षिण एसियामा चर्किँदै गएको धर्म–राजनीतिक विषालु हावाले नेपालमा पनि सामुदायिक द्वेष फैलाउने खतरा बढाइरहेको सन्दर्भमा यो प्रश्न झन् गम्भीर बनेको छ।
एजेन्डाभन्दा देवत्वकरण
बालेन्द्र समर्थक डिजिटल सञ्जाल व्यवस्थापनले उनलाई देवत्वकरण गर्ने प्रयास गरिरहेको आरोप पनि उठ्न थालेको छ। कार्यकर्तालाई ‘झोले’ भन्दै आलोचना गर्ने प्रवृत्ति र नेताहरूलाई ‘भक्त’ बनाउने शैलीले लोकतान्त्रिक बहसलाई कमजोर बनाउने खतरा देखिन्छ।
शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, आवास, संविधान संशोधनजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा स्पष्ट खाका प्रस्तुत गर्नुपर्ने बेला धार्मिक यात्रामार्फत छवि निर्माण गर्नु घातक हुनसक्छ। आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले बहुल समाजमा विद्वेष फैलाउने धर्म–राजनीतिबाट आफूलाई अलग राख्न सक्नुपर्छ।
दिशा के हो?
बालेन्द्र शाहको पछिल्लो चुनावी गतिविधिले उनको राजनीतिक दिशाबारे गम्भीर प्रश्न जन्माएको छ। उनी गणतान्त्रिक, बहुसांस्कृतिक समाजको नेता बन्न खोजिरहेका हुन् कि धर्मलाई राजनीतिक पूँजी बनाउने शाह वंशीय राजाको छायामा आफूलाई उभ्याउँदै छन्? रास्वपाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे प्रस्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म यी प्रश्नहरू अझ बलिया हुँदै जानेछन्।
प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारमाथि यस्ता प्रश्न उठाउनु लोकतान्त्रिक बहसको अनिवार्य हिस्सा हो। यसको उत्तर शब्दले होइन, व्यवहारले दिनेछ—दिनैपर्छ।








प्रतिक्रिया दिनुहोस्