काठमाडौं, ३ माघ २०८२ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्नो संगठनात्मक र चुनावी तयारी तीव्र पारेका छन्। नेकपा एमालेले ओलीको गृहजिल्ला झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको छ ।
नेकपा एमालेले झापा जिल्लामा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। यो फोर्सको संयोजक (कमान्डर) मा विकास गिरी लाई तोकिएको छ। सहायक कमान्डरहरूमा भानु सुब्बा र बाबु लिम्बू छन्।
झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा फोर्सको घोषणा गरिएको हो। केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठ ले शपथग्रहण गराउँदै भने, “नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गरिनेछ। विदेशी चलखेलविरुद्ध युवाहरू एकजुट हुनुपर्छ। देश जलाउने र बनाउनेबीचको भिन्नता छुट्ट्याएर अघि बढ्नुपर्छ।”
फोर्सका कमान्डर विकास गिरीले टोल-टोलमा सुरक्षा दस्ता गठन गर्ने र अप्ठ्यारो अवस्थामा जनताको सुरक्षा गर्ने बताए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा झापा संयोजक रोमनाथ ओली, केन्द्रीय सदस्य राजकुमार थापा, झापा उपाध्यक्ष शिव ढुङ्गेल लगायत सहभागी थिए।
यो फोर्स गत मंसिर ५ गते काठमाडौंमा घोषणा भएको थियो। एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल ले ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका थिए। अब जिल्ला तहमा विस्तार भइरहेको छ।








प्रतिक्रिया दिनुहोस्