काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ।
पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उनले बताए। बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने उनले जानकारी दिए।
विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको भन्दै सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने बताए। केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी, केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने सापकोटाको भनाइ छ।
त्यस्तै तोकिएको मितिमा नै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय भएको उनले जानकारी दिए। जेनजीलगायत परिवर्तनकारी शक्तिहरूसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र राजनीतिक कार्यदिशा तथा विचार मिल्नेसँग कार्यगत एकताका लागि प्रभावकारी पहल गर्ने निर्णय बैठकले गरेको छ।








प्रतिक्रिया दिनुहोस्