सम्पादकीय: सोसल साइट बन्दको विरोधमा जेनजी पुस्ताका विभिन्न समूहले आह्वान गरेको काठमाडौं प्रदर्शन अकल्पनीय रुपमा हिंसात्मक बन्दा १७ जना नागरिकको मृत्यु भएको विभिन्न अस्पतालहरुले पुष्टि गरेका छन् । तर उनीहरुको परिचय अझैसम्म रहस्यमयी रुपमा गोप्य राखिएको छ ।

जेनजी समुहहरुले प्रदर्शन गर्ने बताएपछि उनीहरुलाई हौस्याउने गरी समर्थन गर्ने प्रतिस्पर्धा चलेको थियो । विशेषगरी राजा फर्काउने अभियन्ता मानिएका र गत वर्षको चैत्र १५ गतेको हिंसात्मक तीनकुने कुण्ड काण्डका अगुवाहरुले अन्तिम बेलासम्म जेनजीको आन्दोलनालाई दुरुपयोग गर्न हरदम कोशिश गरिरहेका थिए ।

भदौ २३ गतेले नेपाली राजनीतिक इतिहासमा जेनजीको प्रदर्शन आह्वान एक कालो धव्बा बन्न पुगेको छ। यस प्रदर्शन र त्यसलाई दमन गर्ने सरकारमध्ये कसको कति जबाफदेही हो भन्ने छिटै नै प्रकाशमा आउने नै छ । यस्ता दुर्घटना र हिंसात्मक आन्दोलन हुँदा त्यसबेला शान्तिपूर्ण व्यवस्था कायम गर्न नसक्नुमा कुनै पनि प्रकारको किन्तु परन्तु विना सरकारको नै सवैभन्दा ठूलो जिम्मेवारी हुन्छ । सम्भवत नेपाली इतिहासमा अकल्पनीय रुपमा नसोचिएको प्रदर्शनका बेला यति धेरै ठूलो मानवीय क्षति भएको यो नै पहिलो घटना हुनु पर्दछ । यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्री लिनु पर्दछ । उनीहरुले जनताका अगाडि माफी मागेर जिम्मेवारीबाट पन्छिनुको कुनै विकल्प हुँदैन ।
२०४६ सालमा पन्चायती व्यवस्था विरुद्ध चलेको ५० दिन लामो जनआन्दोलनमा १९ जना नागरिकको मृत्यु भएको थियो । ०६२–६३ को जनआन्दोलनका बेला काठमाडौं उपत्यकामा २६ जनाको ज्यान गएको थियो ।
सोमबारको प्रदर्शनका क्रममा प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोज्ने, भित्रै आगजनी गर्ने र मुख्य गेट भत्काउन खोजेपछि प्रहरीले बल प्रयोग गरेको देखिन्छ प्रहरीको गोली लागेर सोमबार अपरान्हसम्म १७ जनाको मृत्यु भइसकेको सर्वोच्च अदालतको नेपाल बारले विज्ञप्ती मार्फत स्पष्ट गरेको छ।
बारका अनुसार अहिलेसम्म नेपालमा भएको प्रदर्शनमा सुरुकै दिन भएको ठूलो मानवीय क्षति हो। यसअघि गत चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनकारीको प्रदर्शनमा एक पत्रकारलाई जिउँदै आगो लगाएका थिए भने अर्का एक प्रदर्शनकारीको मृत्यु भएको थियो।
राज्यको काम के हो ?
सवैभन्दा पहिले नागरिकको शान्ति र अमनचैन कायम गर्नु नै सरकारको मुख्य कर्तव्य र जिम्मेवारी हो । यो सरकार गत चैत्र १५ गते र सोमबार भएका दुवै प्रदर्शनको अनुमान, विश्लेषण र सोही अनुरुपको सुरक्षा व्यवस्था कायम गर्न पूर्णत असफल भएको छ । यस हिसाबले मुलुकका दुई मुख्य ठूला दलको सरकारले वैधानिकता गुमाएको छ । वैधानिकता केवल संसदभित्रको अंकगणितले मात्र निर्धाणर गर्दैन । सडकको जनमत र शान्ति तथा अमनचयनको स्तरले मुख्य निर्धारण गर्दछ । त्यसमाथि सरकारले जेनजी पुस्तालाई होच्याउने र हियाउने दुर्वचनमार्फत हदैसम्मको नालायकी प्रदर्शन मात्र होइन, सोमबारको प्रदर्शनमा तमासे बनेको छ ।
कुनै पनि आन्दोलन विशेषगरी जेनजी भनिने कुनै आकार र स्वरुप नभएको स्वतस्फूर्त प्रदर्शनमा कुत्सित स्वार्थ वोक्ने समूहहरुले सवैभन्दा ठूलो अवसरका रुपमा दुरुपयोग गर्ने डरलाग्दो खतरा हुने कुरा स्वतसिद्ध तथ्यका रुपमा स्थापित छ । यस्तो तथ्यलाई दुई तिहाईको दम्भ दिएर जनतालाई हेप्ने सरकारले किन अनुमान गर्न सकेन ? के नेपाल सरकारसँग कुनै पनि प्रकारको खुफिया प्रणाली छैन ? त्यसो हो भने नेगुवि, सेनाभित्रको डिएमआई, नेपाल प्रहरीका दुवै मोर्चाका खुफिया तन्त्र र कर्मचारीतन्त्र भित्रका सुलेसुलेहरुको काम के हो ? सिंगो नेपाली समाजको प्रतिनिधित्वको दावी गर्ने जुम्ल्याहा दल कांग्रेस–एमालेको केन्द्रदेखि वडासम्मको संयन्त्रले के गरिरहेको छ ? के दलका यी सबै संयन्त्रलाई नेपाली समाजको गर्भमा कस्तो रापताप रन्किंदै छ भन्ने पटक्कै थाहा छैन ? वास्तवमा यी सवै निकाय निकम्मा सावित भएको नांगो प्रहसन हुन पुगेको छ सोमबारको दुखद त्रासदी । यस्तो सरकार र त्यसका अधिकारीहरुको कुनै पनि कुरालाई जनताले अब के का आधारमा विश्वास गर्ने ? गत वर्ष बंगलादेश र तीन वर्ष पहिले श्रीलंकामा भएको घटनाको रिहर्सलको त प्रदर्शन भइनैसक्यो । यस्तो बेला पनि नचेते कहिले चेत्ने हो ?
अनाहकमा झण्डै डेढ दर्जन बढी नागरिकको निधन जति दुखद छ, त्यसभन्दा बढी दुर्भाग्यपूर्ण वर्तमान सरकारको नालायकी बन्न पुगेको छ । तसर्थ नैतिकताका आधारमा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु नै न्यूनतम भएपनि जनताप्रतिको उत्तरदायित्व हुनसक्नेछ ।








प्रतिक्रिया दिनुहोस्