काठमाडौ ४ भदौ । भुम्लु गाउँपालिकाका दुई वडाका बासिन्दाले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपूर्जा वितरण शुरु गर्नुभएको हो । २०३२ सालदेखि गाउँपालिकाको ९तत्कालीन भुम्लु र फलाँटे गाविस० अहिलेका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए ।
प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नम्बर ७ र ८ का चार सय ३१ जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको छ । हिजो वडा नम्बर ७ का एक सय ८५ र वडा ८ का दुई सय ४६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।
यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले २०७१ सालको जेठ २५ गतेदेखि पालिकामा नापी टोली खटाएर काम गरिरहेको थियो । कार्यालयका अनुसार अहिले दुई वटा वडाको चार सय ५० वटा लालपूर्जा बनेको छ भने त्यति नै सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ ।
कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नम्बर ७ मा तीन सय र वडा नम्बर ८ मा छ सय वटा लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिनुभयो । साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो ।
तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो । २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । २०३५ सालमा पनि काम नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् ।







प्रतिक्रिया दिनुहोस्