काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको बताएका छन्।
हाल विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी उनलाई खोज्दै इसराइल पुगेका छन्।
इसराइलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरूले राष्ट्रपति इसहाक हर्गोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको रिहाइका लागि आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत् मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई सरकारको प्राथमिकतामा राखी सबै तहमा पहल भइरहेको स्पष्ट पारेका छन्।
“यसअघि मैले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग फोन संवाद गरी विपिनको रिहाइबारे ध्यानाकर्षण गराइसकेको छु। सरकार विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक स्तरमा सक्रिय छ,” प्रधानमन्त्री ओलीले भनेका छन्।
उनका अनुसार परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत् निरन्तर संवाद गरिरहेको छ भने इसराइलमा सहयोग पुर्याइरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति प्रधानमन्त्रीले विशेष धन्यवाद व्यक्त गरेका छन्।
“विपिनका परिवारको साथमा सरकार छ,” प्रधानमन्त्री ओलीको भनाइ छ।







प्रतिक्रिया दिनुहोस्