काठमाडौ ८ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ ।
मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र त्यसको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत काम गर्नेछ ।
एक प्रभावकारी संयन्त्रको रूपमा गुनासो व्यवस्थापनको काम गर्नको लागि शाखाको प्रमुखलाई गुनासो सहजकर्ता तोक्ने मन्त्रालयले जनाएको छ ।
सेवाग्राहीले विभिन्न सञ्चारसाधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरीरगुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
गुनासो सहजकर्ताले प्राप्त गुनासाको अध्ययन गरी कारबाही गर्नुपर्ने वा नपर्ने वर्गीकरण गरी तत्काल प्रक्रिया अगाडि बढाउने, कुनै निर्धारित विधि र प्रक्रिया पूरा गर्नु पर्ने वा नपर्ने, सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।
सहजकर्ताले तत्कालै सम्बोधन गर्न नसक्ने भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव भए सम्बोधन गर्ने, नसक्ने भए महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्