काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर सकिएको हो । बैठक सुरु हुनासाथ मेयर बालेन्द्र शाह (बालेन) ले प्रस्ताव पढेर सुनाए । काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा आइतबार बिहान ९ बजे कार्यपालिका बस्ने र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरे ।
उनले उक्त प्रस्ताव पेस गरेलगत्तै कार्यपालिका सदस्यले प्रस्ताव स्वीकार गरे । लगत्तै, अन्य केही विषय नभएको भन्दै मेयर शाहले बैठक सकिएको घोषणा गरे ।‘एजेन्डामा २४ वटा गएको भए पनि आज एउटा मात्रै राख्ने कुरा भएको छ । प्रस्ताव नम्बर एकमा रहेको काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा अधिवेशन मिति तोक्ने सन्दर्भमा मिति २९ गते दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बस्ने प्रस्ताव पेस गर्न चाहन्छु, सभा गृहमा । अन्य केही विषय नभएर बैठक सम्पन्न भएको घोषणा गर्दछु,’ मेयर शाहले यतिमात्रै भने ।
आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ । राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट आइतबार सार्वजनिक हुनेछ ।







प्रतिक्रिया दिनुहोस्