काठमाडौ २४ असार । राजनीतिक जीवनको उत्तरार्द्धमा भ्रष्टाचार आरोप खेपेर असहज अवस्था झेलिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनका पुराना सहयात्री झलनाथ खनालले अध्यक्षबाट राजीनामा दिन माग गरेका छन्।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष नेपालको राजीनामा माग गर्दै उनको राजीनामाले ‘पार्टी र नेपाल दुवैलाई हित गर्ने’ बताएका हुन्।
गएको सातादेखि जारी एकीकृत समाजवादीको सचिवालय बैठकमा आइतबार आफ्ना लिखित धारणा राख्दै नेता खनालले अध्यक्ष नेपालको राजीनामा मागेको पार्टीका एक पदाधिकारीले जानकारी दिए।
‘आइतबार दिउँसोको सचिवालय बैठकमा उहाँले आफ्ना धारणाहरू लिखित रूपमा राख्नुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने ‘त्यसक्रममा उहाँले मूलतः दुइटा कुरा राख्नुभयो। पहिलो, अध्यक्ष नेपालले जिम्मेवारीबाट मुक्त हुनु नै पार्टीका लागि राम्रो हुने बताउनुभयो। अर्को, रामकुमारी झाक्रीमाथि कारबाही गर्न नहुने उहाँको धारणा थियो।’
आइतबारको सचिवालय बैठकमा दिउँसो आफ्ना धारणा राखेर राति चीनतिर लागेका पूर्वप्रधानमन्त्री खनालले पार्टी अध्यक्ष नेपालमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको र अख्तियारले मुद्दा नै दायर गरिसकेको अवस्थामा उनले अध्यक्ष पद छाड्दा सबैभन्दा उत्तम हुने बताएको ती नेताले जानकारी दिए।
एकीकृत समाजवादीका नेताहरूका अनुसार पार्टीको सचिवालयमा अध्यक्ष नेपालको एकछत्र प्रभाव छ। जहाँ खनाल अल्पमतमा छन्। त्यसैले पार्टी सचिवालयमा उनको धारणाको सुनुवाइ हुने सम्भावना कमजोर छ।
‘उहाँको लिखित धारणाबारे अहिले बाहिर कुरा नगर्ने सहमति बैठकमा भएको छ,’ पार्टीका एक पदाधिकारीले भने, ‘फेरि उहाँ अहिले चीन भ्रमणमा हुनुहुन्छ। तर, उहाँले अध्यक्षको राजीनामा मागिसकेपछि बैठकमा पहिले बोलिसकेकाहरूले फेरि बोल्ने क्रम चलिरहेको छ। अधिकांशले खनालको प्रस्ताव खारेज गर्नुपर्ने मत राखेका छन्।’
त्यस्तै पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले लुम्बिनीको कार्यक्रममा अध्यक्ष नेपाल लक्षित गर्दै अर्ली महाधिवेशन गर्नुपर्ने बताएकी थिइन्। त्यसक्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसक्ने’ अभिव्यक्ति समेत दिएकी थिइन्।







प्रतिक्रिया दिनुहोस्