काठमाडौ १० असार । कोसी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष (२०८३ मा वंश र जातीय प्रतिष्ठानहरूलाईसमेत बजेट हालेको भन्दै सत्ता पक्षीय सांसदले नै सरकारको आलोचना गरेका छन्।
कोसी प्रदेश सभामा विनियोजन विधेयकमाथि छलफलको क्रममा सांसदहरूले अधिकांश क्षेत्रमा सामुदायिक भवन, कुल, वंश, जात, प्रतिष्ठानका नाममा बजेट हालेको भन्दै सरकारको बजेट वितरण प्रणाली नै गलत मनसायबाट आएको बताएका हुन्।
नेकपा एमालेका सांसद जयप्रकाश चौधरीले विभिन्न कुल, वंश र जातीय आधारमा बजेट विनियोजन गरिएको बताए। उनले भने, ‘कुल वंशको लागि बजेट छुट्याएर सरकार समाजलाई विभाजित गर्न लागिरहेको छ।’
विराटनगर महानगरपालिका वडा नम्बर १९ को खप्तरी बस्नेत पूजा स्थललाई १० लाख, धमला सामाजिक सेवा प्रतिष्ठानलाई २० लाख तथा दाहाल प्रतिष्ठानलाई १० लाख बजेट सरकारले छुट्याएको छ।
त्यसैगरि हलुवाई समाजको भवन निर्माण गर्न १५ लाख, श्रेष्ठ चुके वंश समाजलाई ५ लाख, पौडेल वंश प्रतिष्ठान सुन्दरहरैँचालाई ११ लाख बाँडिएको छ।
त्यस्तै फुयाँल प्रतिष्ठानलाई २० लाख, तिमल्सिना बन्धु सामुदायिक भवनलाई १० लाख छुट्याइएको छ। सोलुखुम्बुमा खबतरी बस्नेतको कुल मन्दिर निर्माणको लागि ५ लाख हालिएको छ भने ओखलढुङ्गामा माझी सामुदायिक भवनलाई ५ लाख, सोलुखुम्बुमा सुतार कार्की गुठीलाई १७ लाख, त्यहीँ अर्को सुतार कार्की सेवा समाजलाई थप १७ लाख बजेट हालिएको छ।
त्यसैगरि खस क्षेत्री कल्याणकारी संस्था सुनसरीमा १५ लाख, सङ्खुवासभामा जोगी विकास उत्थान सङ्घलाई ८ लाख, भोजपुरमा खड्गी सेवा समितिलाई ८ लाख, डैले खत्री समाजलाई १० लाख, धरानमा हङ्गामा वंशलाई १० लाख बजेट हालिएको भन्दै प्रदेश सांसदले प्रश्न उठाउँदै आएका छन्।
शेर्पा सङ्घ, मगर सङ्घसहित थर, जात, धर्म, वंशलाई प्रशस्त बजेट हालिएको छ।
त्यसैगरि आमा समूहहरूलाई पनि रकम बाँडिएको छ। आफ्नो भोटबैँक सुरक्षित गर्नको लागि आमा समूह, प्रतिष्ठान, सामुदायिक भवन लगायतमा बजेट वितरण गरिएको हो।
यसअघि वितरण गरिएका त्यस्ता रकमको हिसाब किताबसमेत छैन।
खाल्डे मनकामना आमा समूह ताप्लेजुङलाई २० लाख, लालीगुराँस आमा समूहको भवन निर्माणको लागि १२ लाख, एक्तेन महिला विकास समितिको भवन निर्माणमा १० लाख रकम बाँडिएको छ।
यी माथिका प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्। प्रतिष्ठान, मठ मन्दिर, धर्मशाला, सामुदायिक भवन, मण्डली, चर्च, गुम्बा, प्रेमवाद लगायतका सयौँ सङ्घ संस्थालाई बजेट बाँडिएको छ।
यसरी गरिएको बजेट वितरणलाई सत्तापक्षीय सांसदले नै राम्रो मानेका छैनन्। एमाले सांसद निरादेबी खनालले पर्यटन वर्ष तामझामका साथ घोषणा गरिएको भए पनि त्यसलाई सफल पार्ने कुनै पनि योजना बजेटमा नभएको बताइन्।
उनले भनिन्, ‘मन्त्रीहरूले नागरिकबाट उठाइएको कर दुरुपयोग गरी आफ्नो क्षेत्रको मठ मन्दिरमा खन्याए। यो राम्रो भएन।’
शिक्षा क्षेत्रलाई प्राथमिकता नदिइएको, रोजगारी सिर्जना गर्ने तर्फ बजेटले नछोएको, खेलकुद क्षेत्रको विकास र विस्तारमा कार्यक्रम नै नभएको भन्दै उनले बजेट माथिको छलफलमा सरकारको आलोचना गरिन्।
एमालेकै अर्का सांसद कमला दर्नालले भौगोलिक विकटतालाई बजेटले छुनै नसकेको टिप्पणी गरिन्। उनले मन्त्रीहरूलाई लक्षित गर्दै भनिन, ‘भान्सेले पेट फुट्ने गरी खाने, तर अरू भोकै बस्नु पर्ने अवस्था आयो।’ बजेट वितरण असन्तुलित भएको सांसदहरूको भनाई छ।
झापाका एमाले सांसद होमबहादुर थापाले मन्त्रीहरूलाई अघिल्लो दिन पनि आफ्नो क्षेत्रमा बजेट हाल्न भ्याई नभ्याई अवस्थामा देखेको बताए। ‘यसले पनि अहिलेको बजेट केही बिग्रिएको जस्तो देखिएको छ,’ उनले भने, ‘योजना बैंकमा रातभरि पनि योजना दर्ता भइरहेका थिए, योजना बैंकलाई सरकारले व्यवस्थित गर्न सकेन। भद्रगोल देखियो।’
‘१० लाखको लागि दयाको पात्र बनाइयो’
सांसदहरूले १० लाख रुपैयाँ माग्नसमेत मन्त्रीहरुको दयाको पात्र जस्तो बन्नु परेको गुनासो गरेका छन्।
उदयपुरका एमाले सांसद गीतादेवी रेग्मीले घर, आँगन, खाल्डो पुर्न बजेट लग्नेहरूले महिला सांसदलाई दयाको पात्र बनाएको भन्दै समानुपातिक व्यवहार नभएको गुनासो गरिन्।
‘महिला भएकै कारण बजेटमा विभेद भयो, सिलिङ बजेट पनि दिइएन’, उनले भनिन्, ‘मन्त्रीहरूले हामी प्रदेशका १४ वटै जिल्लाका हौँ भन्ने बिर्सिए। आफ्नो निर्वाचन क्षेत्रमा अर्बौँ बजेट लग्ने, बिचरा हामी १० लाखमा रुनु पर्ने दयाको पात्र बन्नु पर्यो।’
संविधानले सङ्घीयतामा यस्तो परिकल्पना नगरेको भए पनि अहिलेको व्यवस्थालाई धज्जी उठाउने काम मन्त्रीहरुबाट भएको रेग्मीको आरोप छ।
गीत गाएर मुख्यमन्त्रीको आलोचना
बजेटको आलोचना गर्ने क्रममा सांसदहरुले गीतसमेत गाएका छन्। सांसद गम्बु शेर्पाले ‘गौरादहको बजारमा, माया हाम्रो बस्यो’ बोलको गीत गाउँदै सरकारको आलोचना गरेका हुन्।
गौरादहमा मात्रै मुख्यमन्त्रीले बजेट केन्द्रित गरेको भन्दै उनले गितमार्फत् मुख्यमन्त्री हिक्मत कार्कीको आलोचना गरेका हुन्।
बजेटमाथिको छलफलका क्रममा उनले कोसी प्रदेशका मुख्यमन्त्री कार्कीको घर छेउमा रहेको गौरादह पोखरीमा हरेक वर्ष बजेट विनियोजन भएको भन्दै गीतमार्फत व्यङ्ग्य गरे।
‘वास्तवमा माया बस्ने भनिएको हिजोको गौरादह, गौरादहले गर्दा मुख्यमन्त्रीज्यू तपाईँ र मेरो, मुख्यमन्त्री र प्रदेशवासीको बसिसकेको माया पनि छुट्ने देखियो,’ व्यंग्य गर्दै उनले भने, ‘प्रत्यक्षले दुई करोड ५० लाख र समानुपातिकले १ करोड ५० लाखको योजना पेस गर्ने र बाँकी चाहिँ क्रमागत र बहु वर्षीय योजनालाई निरन्तरता दिने भनिएको थियो । तर, अहिले एउटै मन्त्रालयबाट मत्स्यगन्धा फन पार्क निर्माणमा पाँच करोड छुट्याइएको छ। यो न्यायपूर्ण होरु यहाँ भ्रष्टाचारको गन्ध आयो।’
मुख्यमन्त्रीले आफ्नो घरछेउको पोखरीमा यो वर्ष चार करोड बजेट विनियोजन गरेको र अघिल्लो वर्ष पनि ४ करोड बजेट छुट्याईएको भन्दै उनले असन्तुष्टि जनाए। ‘एउटै तहमा चार–चार करोड लगाउने यो न्यायपूर्ण हुन्छरु,’ शेर्पाले भने।








प्रतिक्रिया दिनुहोस्