बेलायतको सबैभन्दा राम्रो पक्षमध्ये एक सामाजिक पूँजी हो। तर यो क्रमशः हराउँदै गइरहेको छ, र राज्यले हामीलाई अपराधबाट जोगाउन संघर्ष गरिरहेको छ।
साना कुराहरूले बेलायतलाई विशेष बनायो
मलाई बेलायतसँग प्रेम गर्न साना–साना कुराहरूले प्रेरित गरे। पसलमा पैसा गन्दै फिर्ता जाँच्नु पर्दैनथ्यो। निजी सुरक्षा गार्डहरू प्रायः देखिँदैनथे। धाराको पानी पिउन सकिन्थ्यो। स्विच थिच्दा बत्ती सधैं बल्थ्यो।
ट्याक्सीमा चढ्दा न डकैतीको डर हुन्थ्यो, न त चालकले छोटो बाटो नलिई गलत भाडा लिन्छ भन्ने चिन्ता। रातो बत्तीमा रोकिँदा पछाडिका गाडीहरूले रिसले हर्न बजाउँदैनथे। मूल्यवान सामानहरू डाकमार्फत पठाउन सकिन्थ्यो।
सात वर्षको उमेरमा पेरुबाट यहाँ आउँदा यी कुराहरूले मलाई आश्चर्यचकित बनाए, र त्यो आश्चर्य अझै पूर्ण रूपमा हराएको छैन। त्यतिबेला मैले सोचें, र अहिले पनि सोच्छु, कि यहाँ हुर्केका मानिसहरूले बेलायतलाई विशेष बनाउने कुराहरूलाई बेवास्ता गर्छन्।
पछि मात्र मैले एउटा शब्दावली फेला पारें जसले बेलायतलाई पेरुबाट मात्र नभई धेरैजसो देशहरूबाट फरक बनाउने कुरा व्याख्या गर्थ्यो। त्यो शब्दावली थियो ूसामाजिक पूँजीू। बेलायत उच्च विश्वासको समाज भएकाले, दैनिक कारोबारहरू सहज थिए। व्यापारको लागत कम थियो, किनकि कुनै पनि पक्षले धोखाधडीविरुद्ध महँगो सावधानी अपनाउनु पर्दैनथ्यो। सामाजिक पूँजीले बेलायतीहरूलाई देशभक्ति र जिम्मेवारीको भावना दियो। उनीहरूले आफ्नो पार्टी हारेको चुनावको नतिजा स्वीकार गर्थे, असहमत भएका कानुनहरू पालना गर्थे, र कर तिर्न गनगन गरे पनि इमानदारीपूर्वक तिर्थे।
सामाजिक पूँजीको ह्रास
यो कम्तीमा पहिलेको अवस्था थियो, जुन १९औँ र २०औँ शताब्दीमा विदेशी आगन्तुकहरूलाई आश्चर्यजनक लाग्थ्यो। तर हाम्रो सामाजिक पूँजी बाढीले बगाएजस्तै हराउँदैछ।
यसलाई हामीले धेरै तरिकामा देख्छौं। उदाहरणका लागि, पसल चोरीको महामारी। गत वर्ष, खुद्रा व्यापारीहरूले २ करोड ४ लाख चोरीका घटना रेकर्ड गरे, जुन सन् २०२३ को तुलनामा ३७ लाखले बढी हो। वा हाम्रा फोहोर सडकहरूलाई हेरौं।
लन्डनको पर्यटकीय क्षेत्रहरूले धेरैजसो फोहोर सफा गर्छन्, तर राजधानीको अन्य भागहरू लकडाउनअघिको तुलनामा फोहोर छन्, जहाँ फास्ट–फूडका खोलहरू र कार्टुनहरू उदासीन रूपमा उडिरहेका छन्।
सरकारको प्रतिक्रिया भने एकल–उपयोग भेप्समाथि प्रतिबन्ध लगाउनु हो। भेप्सले फोहोरमा योगदान गर्छ, तर यो प्रतिक्रिया भने राजनेताहरूको मुख्य समस्यालाई सम्बोधन गर्न नसक्ने र सानो मुद्दालाई मात्र सम्बोधन गर्ने उदाहरण हो—जस्तै म्यानचेस्टर एरिना बम विस्फोटको जवाफमा आप्रवासनका कमजोरीहरूलाई सम्बोधन गर्नुको सट्टा साना स्थलका कर्मचारीहरूलाई आतंकवादविरोधी तालिम दिने निर्णय।
समस्या भेप्स फोहोर हुनुमा होइन, बरु मानिसहरूले आफ्नो सडक कस्तो देखिन्छ भन्ने कुरामा अब ध्यान नदिनु हो। यस्तो किन भयो—खासगरी पछिल्लो पाँच वर्षमा—यो प्रश्न कमै अन्वेषण गरिएको छ।
के हामीले फोहोर फाल्नु सामान्य मान्ने देशहरूबाट नयाँ जनसङ्ख्या भित्र्याएका छौं ? के यो कार्यालयमा कम मानिसहरू उपस्थित हुनुको परिणाम हो, किनकि उनीहरूले अशक्तता लाभ फेला पारे वा घरबाट काम गरेजस्तो गर्छन् ? वा यो लकडाउनकै परिणाम हो ? मानव सम्पर्कबाट काटिएर, अनलाइन षड्यन्त्र सिद्धान्तहरूमा लिप्त भएर, के एक पुस्ता उदासीनतामा धकेलियो ?
पसल चोरी र कानुन कार्यान्वयन
हामीले पसल चोरीको बारेमा पनि यस्तै प्रश्नहरू सोध्नुपर्छ, जसले खुद्रा व्यापारीहरू (वा, बरु, चोरी नगर्ने ग्राहकहरू) लाई वार्षिक २ अर्ब पाउन्डको नोक्सान पुर्याउँछ। पहिले धेरैजसो मानिसहरूलाई चोरी गर्नबाट रोक्ने कुरा आपराधिक कारबाहीको डर थिएन—कमै पक्राउ पर्छन्, झन् कमलाई हिरासतमा राखिन्छ, र प्रायः कसैलाई मुद्दा चल्दैन—बरु यो अस्वीकार्य छ भन्ने भावना थियो। यो भावना, धेरै कुराहरूजस्तै, महामारीले कमजोर बनायो। साथै, ठूलो मात्रामा आप्रवासनले उच्च विश्वासका समाजहरूमा निर्भर हुने एकरूपतालाई पातलो बनाउँछ।
जब राष्ट्रको चरित्र बदलिन्छ, कानुनहरू परिवर्तन हुनु अघि तिनको कार्यान्वयन बदलिन्छ। सिद्धान्तमा, चोरीविरुद्धका कानुनहरू अझै छन्। व्यवहारमा, प्रहरीहरू यी कानुनहरू लागू गर्नभन्दा अलोकप्रिय विचार राख्ने मानिसहरूलाई पछ्याउन रुचाउँछन्।
लुसी कोनोलीजस्ता व्यक्तिलाई, जसलाई असंयमित पोस्टका लागि जेल हालियो, यदि उनले मार्क्स एन्ड स्पेन्सरबाट सामान चोरेको भए जेल पर्ने कल्पना गर्न सकिँदैन—त्यो पनि दर्जनौं पटक पक्राउ परे पनि। प्रहरीहरू वर्दीधारी नागरिकबाट राज्यको विचारधाराका प्रवर्तक बन्दैछन्। सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी अब सबैको काँधमा छ। यही तरिकाले हामी स्पष्ट रूपमा कम विश्वासको समाज बन्दैछौं, जुन ल्याटिन अमेरिका वा अफ्रिकाका गरिब क्षेत्रहरूको सम्झना दिलाउँछ।
निजीकरण र सुरक्षा
धनीहरू गेटेड समुदायहरूमा फर्किंदै छन्, सुरक्षा कम्पनीहरू भाडामा लिइरहेका छन्, पहरेदारहरू राख्दै छन् (विशेष गरी सिनागगहरू बाहिर, जहाँ इजरायलविरोधी प्रदर्शनकारीहरूलाई प्रहरीले हेरेर बस्यो भनेर असुरक्षित महसुस भएको छ)। पर्खालहरू ठडिँदै छन्—संसद वरपरको नयाँ कुरूप बार सहित।
मेरो जन्मस्थान लिमामा, ठूला घरहरूमा वर्दीधारी पहरेदारहरू (वाचमेन) हुन्थे। लन्डन पनि त्यही बाटोमा कति समय लाग्ला ?
जसले आफ्नै ूवाचमेनू (गार्ड) राख्न सक्दैनन्, तिनीहरूका लागि स्वयं प्रवर्तनको विकल्प छ। चोरी भएको जगुआरलाई एयरट्यागमार्फत पत्ता लगाएर फिर्ता चोरेको दम्पतीको समाचारले अनलाइनमा यस्तै कथाहरूको बाढी ल्यायो। सधैं एउटै कथाः गाडी चोरी हुन्छ, मालिकहरूले प्रहरीलाई चोरहरूले एयरट्याग फेला पार्नुअघि रोक्न आग्रह गर्छन्, प्रहरी हात बाँधेर बस्छ, मालिकहरू आफैंले कदम चाल्छन्।
निजी नागरिकहरूले हाम्रो भत्कँदो राज्य संयन्त्रले छोडेका खाली ठाउँहरू भर्दै छन्। स्वयंसेवकहरूको समूहले ट्युब ट्रेनहरूबाट ग्राफिटी धोइरहेको छ—तर उनीहरूलाई गलत सफाई तरल पदार्थ प्रयोग गरेको हुन सक्छ भन्दै विशेषज्ञहरूलाई छोड्नुपर्ने भनियो।
छाया न्याय मन्त्री रोबर्ट जेनरिकले एक बिहान व्यक्तिगत रूपमा भाडा नतिर्नेहरूलाई सामना गरे, क्यामेरामा उनीहरूलाई सोध्दै किन उनीहरूले अरूजस्तै भाडा तिर्नु नपर्ने ठान्छन्। ट्रान्सपोर्ट फर लन्डनका कर्मचारीहरूले आफूहरूको कमजोरी उजागर भएको महसुस गर्दै उनले अनुमति बिना भिडियो खिचेको गुनासो गरे।
राज्यको असफलता
मलाई लाग्छ, राज्यले खराब तरिकाले गर्ने धेरै कुराहरू निजी व्यक्तिहरूले राम्रोसँग गर्न सक्छन्। मलाई बुझ्न गाह्रो छ किन सरकारले लन्डन अन्डरग्राउन्डको स्वामित्व र सञ्चालन गर्नुपर्छ, र स्वतन्त्रतावादी विचारको एक धार छ जसले प्रहरीका धेरैजसो कार्यहरू निजी फर्महरूलाई हस्तान्तरण गर्नुपर्छ भन्छ।
तर हामी स्वतन्त्रतावादबाट धेरै टाढा छौं। हामीसँग १९४० यताकै उच्च कर छ, सदीको सुरुदेखि राष्ट्रिय ऋण तेब्बर भएको छ, र हामी फुटबलको नियमनदेखि कार्यस्थलमा कर्मचारीहरूले गलत कुरा सुन्नबाट जोगाउन नियोक्ताहरूले के गर्नुपर्छ भन्ने जस्ता साना साना कानुनहरू पारित गर्दैछौं।
यही अर्थमा हामी साँच्चै विकासशील राष्ट्रजस्तै बन्दैछौं। सरकारले आफ्नो काम नभएका कुराहरू गर्न खोज्छ, तर आफ्नो मुख्य जिम्मेवारीहरू—विशेष गरी सम्पत्तिको रक्षा गर्न कार्यरत न्याय प्रणाली प्रदान गर्ने कर्तव्य—मा असफल हुन्छ।
टिकट ब्यारियरबाट धकेल्नेहरूसँग सामना गर्नेदेखि वास्तविक सतर्कतावादसम्म कति समय लाग्ला ? इस्लिंगटनका एक साथीले मलाई भने अनुसार उनको स्थानीय को–अपले हालै केही सामानहरू हटायो र बाँकी सबै—खानासमेत—चोरीविरोधी तालामा राख्यो। यो आक्रामक पसल चोरीको जवाफ थियो, जसमा तिनीहरूको ‘वाचमेन’ दुई पटक कुटिए।
जब यो कुरा फैलियो, स्थानीय बासिन्दाहरूले क्रिकेट ब्याट बोकेर पसलको रक्षा गर्न स्वयंसेवकको तालिका बनाउने निर्णय गरे। तर, इस्लिंगटन इस्लिंगटन नै भएकाले, स्थानीय व्हाट्सएप समूहमा पर्याप्त वकिलहरू थिए जसले स्वयंसेवकहरू पक्राउ पर्ने चेतावनी दिए।
विश्वासको ह्रास
कस्तो दुखद पतन। ली क्वान युले एकपटक स्मरण गरेका थिए, जब उनी क्याम्ब्रिजमा कानुन पढ्दै थिए, उनले ट्युब लिएर पिकाडिली सर्कस गए र मानिसहरूले अखबार किनेर इमानदारीपूर्वक बाकसमा सही मूल्य छोडेको देखेर छक्क परे।
अब पिकाडिली सर्कसमा यस्तो व्यवहार अकल्पनीय छ। यो सिंगापुरमा पाउन सकिन्छ, जसले आफ्नो विशाल आप्रवासी जनसङ्ख्यामा राष्ट्रिय एकताको भावना सफलतापूर्वक जगाएको छ। तर बेलायतमा, आंशिक रूपमा एरिक कफम्यानले असममित बहुसंस्कृतिवाद भनेको—अल्पसङ्ख्यकहरूलाई उत्सव मनाउने तर बहुसङ्ख्यकलाई हेयको नजरले हेर्ने –कारणले विश्वासको यो भावना हराउँदैछ।
हामी तेस्रो विश्व भनिने अवस्थामा खस्कँदैछौं। र सबैभन्दा खराब कुरा, हामीलाई यो कुराको वास्ता छैन जस्तो देखिन्छ।
१४ जुन २०२५, द टेलिग्राफबाट








प्रतिक्रिया दिनुहोस्