काठमाडौ २२ जेठ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्ना अध्यक्ष माधव नेपालले पताञ्जली प्रकरणमा नीतिगत निर्णय गरेको बताएका छन्।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यसमा अध्यक्ष नेपालले कुनै अपराध नगरेको दाबी समेत गरे।
‘हाम्रो पार्टी अध्यक्षको यो जग्गा खरिद बिक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध भयो जस्तो लाग्दैन,’ पाण्डेले भने, ‘हिजो पनि नेपाल सरकारसँग नीतिगत निर्णय गर्न पाउने अधिकार थियो। त्यही विधेयक अहिले राज्यव्यवस्थामा थन्किएर बसिरहेको छ।’
उनले थपे, ‘त्यो अधिकार मन्त्रिपरिषद्लाई दिने कि नदिने भन्ने बारेमा छलफल भएर अड्किरहेको हो। त्यसकारण हिजो नीतिगत निर्णय थियो। गिरिबन्धु टिस्टेटको पनि नीतिगत निर्णय थियो।’
नीतिगत निर्णयमा यसैगरी मुद्दा चालउने हो भने कोही पनि बाँकी नरहने पाण्डेको भनाइ छ। ‘अब नीतिगत निर्णय भएका कुरालाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने मलाई लाग्छ संसद्मा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छ,’ उनले भने।
अध्यक्ष नेपालमाथिको मुद्दालाई राजनीतिक प्रतिशोध भन्दै उनले वर्तमान सरकारप्रति त्यसलाई लक्षित समेत गरे।
पाण्डेले भने,‘मलाई के लाग्छ भने यो घटना जन्मिनु, आउँदो २८ गते अख्तियार लगायत सबै संवैधानिक निकायको म्याद सकिने फैसला पनि हुनु, यही छोटै अवधिमा के के गर्नुपर्ने बाध्यता भएर यो सब गर्दै हो कि जस्तो लाग्छ।’








प्रतिक्रिया दिनुहोस्